प्रधानमन्त्री सदनमा आउन डराएका छन्, सत्यको सामना गर्न सक्दैनन्: राहुल गान्धी

Rahul-Gandhi-allegation-On-PM-Modi-Govt-1770645482766_m

नयाँ दिल्ली: लोकसभाका नेता प्रतिपक्ष राहुल गान्धीले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदी सदनमा आउन डराएको दाबी गरेका छन्। उनले पूर्व थलसेना प्रमुख जनरल एम.एम. नरवणेको पुस्तकको एक अंश उद्धृत गर्दै प्रस्तुत गर्न खोजेको सत्यको सामना प्रधानमन्त्रीले गर्न नसक्ने उनको आरोप छ।
राहुल गान्धीले स्पष्ट रूपमा भने कि प्रधानमन्त्रीमाथि कुनै पनि विपक्षी सांसदले आक्रमण गर्ने प्रश्न नै उठ्दैन। यदि कसैले यस्तो कुरा गरेको छ भने तत्काल प्राथमिकी दर्ता गरी उक्त व्यक्तिलाई गिरफ्तार गर्नुपर्ने उनको भनाइ छ। उल्लेखनीय छ, लोकसभा अध्यक्ष ओम बिरलाले अघिल्लो बिहीबार कांग्रेसका केही सांसद प्रधानमन्त्रीको आसन नजिक पुगेकाले अप्रिय घटना हुन सक्ने आशङ्कामा प्रधानमन्त्री सदनमा नआएको बताएका थिए।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै राहुल गान्धीले भने, “जनरल नरवणेको पुस्तकको विषय उठेपछि यो विवाद सुरु भयो। सरकारले म त्यसबारे बोलोस् भन्ने चाहेन। त्यसैले सदनको कार्यवाही अवरुद्ध गरियो र मलाई बोल्न दिइएन। यस्तो तीन–चार पटक भयो।”
उनका अनुसार सुरुमा पुस्तक उद्धृत गर्न नपाइने भनियो। त्यसपछि पत्रिकाको सन्दर्भ दिएको भनिँदा पनि अनुमति दिइएन। अन्ततः त्यस विषयमा बोल्नै नपाइने भनियो। राहुल गान्धीले रक्षा मन्त्रीले नरवणेको पुस्तक प्रकाशित नभएको भन्दै गलत जानकारी दिएको आरोप लगाए। उनले पुस्तक प्रकाशित भइसकेको र त्यसको प्रति आफूसँग रहेको दाबी गरे।
राहुल गान्धीले राष्ट्रपति अभिभाषणमाथिको छलफलमा नेता प्रतिपक्ष र सम्पूर्ण विपक्षलाई बोल्न नदिइनु गम्भीर विषय भएको बताए। उनले सत्तापक्षका एक सांसदले विभिन्न पुस्तक उद्धृत गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको तर त्यसमा कुनै कारबाही नभएको आरोप पनि लगाए।
विपक्षका आठ सांसद निलम्बन हुनु अर्को गम्भीर विषय भएको उनको भनाइ छ। राहुल गान्धीले प्रधानमन्त्री विपक्षका कारण होइन, सत्यको सामना गर्न नसकेर सदनमा नआएको दाबी दोहोर्याए।
यसैबीच राहुल गान्धीले अन्य विपक्षी नेताहरूसँग मिलेर लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गरी सदनमा उठाउन चाहेका विषयहरू अवगत गराए। उक्त भेटमा तृणमूल कांग्रेसका अभिषेक बनर्जी, द्रमुकका टी.आर. बालु र समाजवादी पार्टीका अखिलेश यादव पनि सहभागी थिए। विपक्षी नेताहरूले गतिरोध अन्त्य गर्न विपक्षका आठ सांसदको निलम्बन फिर्ता लिन आग्रह गरेका छन्।

About Author

Advertisement