खोरिवारी: दार्जिलिङ जिल्लाको फाँसिदेवा विधान सभा क्षेत्रअन्तर्गतको खोरिवारी ब्लकको बिन्नाबारी गाउँ पञ्चायतमा रेल अन्डरपास निर्माणको तत्काल आवश्यकता संसदमा सोमबार उठाउनुभयो सांसद हर्षवर्धन श्रिङलाले। जनहितसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण यस विषयमा सांसदले जानकारी दिनुभयो कि लामो समयदेखि सुरक्षित रेल सम्पर्कको अभावले यहाँको करिब ५० देखि ६० हजार मानिस दैनिक अत्यन्तै कठिन परिस्थितिमा जीउँदै आएका छन्।
संसदमा वक्तव्य राख्दै श्रिङलाले भन्नुभयो कि साना र सिमान्तकृषकको हकमा यो समस्या अझ गहिरो छ। रेललाइनले विभाजित भएकाले उनीहरूले बजारसम्म पुग्न लामो र घुमाउरो मार्ग अपनाउनुपर्ने बाध्यता छ। जसले गर्दा यातायात खर्च बढ्नुका साथै कृषि उत्पादनको नोक्सानी र आर्थिक घाटा भोग्नुपर्ने बाध्यता छ।
उहाँले थप भन्नुभयो कि असुरक्षित रेलपथ पार गर्दै विद्यार्थी, बिरामी र साधारण मानिसहरू लगातार जोखिमको सामना गरिरहेका छन्। रेललाइनको अर्को छेउमा अवस्थित गाउँ अस्पताल र शिक्षण संस्थाहरूमा पुग्न ढिलाइ हुँदा आपतकालीन स्वास्थ्य सेवा र अध्ययनमा गम्भीर बाधा पुगेको छ।
रेल मन्त्रालयको तत्काल हस्तक्षेपको माग गर्दै श्रिङलाले भन्नुभयो कि ग्रामीण विकास मन्त्रालयसँग समन्वय गरेर प्रधानमन्त्री ग्राम सडक योजनाअन्तर्गत बिन्नाबारीमा रेल अन्डरपास निर्माण गर्न सकिए यस दीर्घकालीन समस्याको प्रभावकारी र स्थायी समाधान सम्भव छ। उहाँका अनुसार, यस पहलले कृषिजन्य उत्पादनको बजार व्यवस्थालाई सुदृढ पार्ने, विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने र स्वास्थ्य सेवामा छिटो पहुँच सुगम पार्नेछ।
वक्तव्यको अन्त्यमा सांसदले स्पष्ट गर्नुभयो कि यो केवल पूर्वाधार विकासको विषय होइन, सुरक्षा, पहुँच र जनताको मर्यादासँग प्रत्यक्ष सम्बन्धित छ। उहाँले थप भन्नुभयो कि प्रस्तावित रेल अन्डरपासले सम्पूर्ण क्षेत्रका मानिसहरूका लागि विकासको अवसर सिर्जना गर्नेछ र सामान्य जीवनशैली पुनःस्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।











