कोचबिहार पुलिसदेखि विश्वमञ्चसम्म देबरति

IMG-20260209-WA0041

कोचबिहार: “छोरीहरूले गर्न सक्दैनन्”, यस्ता शब्द सुनेर पनि उनी रोकिइनन्। सानो शहर कोचबिहारकी एक साधारण छोरी देबरति दत्त। वरिपरि असंख्य बाधा र प्रश्नहरू….“छोरी भएर कराटे सिखेर के गर्छ्यौ?” तर विद्यालयको सानो कोरिडोरमा उभिएर कराटेको पहिलो पाठ सिकेकी उही छोरी आज उत्तर बंगालको गौरव बनेकी छन्।
२०१५ मा वेस्ट बंगाल स्टेट काउन्सिल फर स्कूल गेम्समा जिल्लाका लागि रजत पदक जित्दै देबरतिले ब्ल्याक बेल्ट हासिल गरिन्। त्यसपछि उनले जिल्ला स्तरमा सिनियर वर्गमा पनि प्रतिनिधित्व गरिन्। २०१७ मा कोचबिहार कपमा पहिलो स्थान हासिल गरी उनले मुख्यमन्त्रीको हातबाट पुरस्कार ग्रहण गरिन्।
राज्यस्तरमा आफ्नो प्रतिभा प्रमाणित गरेपछि २०१९ मा गुवाहाटीमा आयोजित राष्ट्रिय कराटे च्याम्पियनशिपबाट उनको गौरवमय यात्रा सुरु भयो। त्यहाँ ब्रान्ज पदक जितेपछि उनको नाम बिस्तारै चर्चामा आउन थाल्यो। त्यसपछि २०२०, २०२१ र २०२२, लगातार तीन वर्ष कोलकातामा आयोजित अन्तर्राष्ट्रिय कराटे च्याम्पियनशिपमा पहिलो स्थान हासिल गर्दै उनले देशको नाम उज्यालो पारिन्। स्कूल गेम्सको मञ्चमा पनि उनले आफ्नो प्रतिभाको उत्कृष्ट परिचय दिइन्।
२०२२ मा देबरतिले नयाँ इतिहास रचिन्। पहिलो पटक उत्तर बंगालतर्फबाट बंगाल ओलम्पिकमा कराटे वर्गमा चयन भइन्। टिम कातामा कोचबिहारको नाम रोशन गर्दै उनले ब्रान्ज पदक जितिन्। त्यस समय उत्तर बंगालको गौरव सम्पूर्ण राज्यको गौरव बन्यो।
यद्यपि जीवनको यात्रा सजिलो थिएन। २०२१ मा कोरोना महामारीको कठिन समयमा आयोजित अल इन्डिया नेशनल कराटे च्याम्पियनशिपमा उनले दोस्रो स्थान हासिल गरिन्। २०२४ मा अल इन्डिया कराटे च्याम्पियनशिपमा पहिलो स्थान जित्दै उनले आफू हार मान्ने वा हार्ने खालकी छोरी होइनन् भन्ने प्रमाणित गरिन्।
कोचबिहार आर.एन. रोडकी बासिन्दा देबरति हाल कोचबिहार कोतवाली थानामा लेडी सिभिक भोलिन्टियरका रूपमा कार्यरत छन्। एक मध्यमवर्गीय परिवारकी छोरी देबरति दत्त आज कोचबिहार पुलिसको पनि गौरव बनेकी छन्। उनका पिता देबप्रसाद दत्त, जो बजारको एक पसलमा काम गर्थे, उनका प्रत्येक सपनालाई आज छोरीले साकार पारेर देखाएकी छन्। आमा रीना दत्त र भाइ देबायन दत्त आज पनि उनका सबैभन्दा ठूला प्रेरणास्रोत हुन्। २०१८, २०१९ र २०२२ मा लगातार तीन पटक स्वर्ण पदक जित्दै देबरतिले आफ्नो मुकुटमा अर्को नयाँ प्वाँख थपेकी छन्।

About Author

Advertisement