जन-स्वास्थ्यको हितमा राजस्वको त्याग

FB_IMG_1770633328191

एनबीएसटीसीको साहसी निर्णय, एक नयाँ उदाहरण

शिवनाथ दास

सिलगढी: आजको समयमा विकासको परिभाषा प्रायः राजस्व वृद्धी, नाफा र वित्तीय लाभका सन्दर्भमा आंकीन्छ। चाहे त्यो सरकारी होस् वा निजी, अधिकांश संस्थाहरू सामाजिक जिम्मेवारीलाई गौण राखेर मात्र आम्दानी बढाउनमा केन्द्रित हुन्छन्। यही परिप्रेक्ष्यमा उत्तरबंग राज्य परिवहन निगम (एनबीएसटीसी) को हालैको निर्णय निस्सन्देह एक असाधारण र अनुकरणीय उदाहरण हो।
जन-स्वास्थ्यको हितमा वार्षिक लगभग १ करोड २५ लाख रुपैयाँको राजस्व त्याग्दै बसको बाहिरी भागबाट तम्बाकू, गुटखा र पान मसालाको विज्ञापन हटाउने निर्णय केवल प्रशासनिक कदम मात्र होइन, यो एक गहिरो नैतिक र सामाजिक सन्देश पनि हो। एक राज्य परिवहन निगम, जुन प्रतिदिन घाटा र अनुदानको सङ्घर्ष गर्दै सेवा कायम राख्छ, उनीहरूको लागि सवा करोड रुपैयाँको राजस्व छोड्नु सजिलो काम होइन। तर निगमले प्रमाणित गर्‍यो कि कोषको वृद्धीभन्दा बढी मूल्यवान जनताको स्वास्थ्य सुरक्षा हो।
बसहरूमा चम्किला रङमा गुटखा वा पान मसालाका विज्ञापन हेर्दा किशोर र युवा वर्गमा यस घातक नशातर्फ आकर्षण बढ्न सक्छ भन्ने चिन्ताबाट यो व्यापक परिवर्तन गरिएको हो। एनबीएसटीसीका लगभग ७०० बसहरूमध्ये लगभग १५० बसमा लामो समयदेखि यस्तो तम्बाकू उत्पादनको विज्ञापन चलेको थियो। स्वाभाविक रूपमा यी विज्ञापनबाट निगमलाई महत्वपूर्ण आम्दानी प्राप्त हुन्थ्यो।
तर प्रश्न यही छ कि जनताको करबाट चल्ने सरकारी परिवहन सेवाको बसमा यस्तो उत्पादको प्रचार गर्नु उचित छ कि छैन, जुन क्यान्सरजस्ता जानलेवा रोगको प्रमुख कारण हुन सक्छ? यस प्रश्नको उत्तर दिन एनबीएसटीसीले साहसी कदम उठायो, जुन प्रशासनिक इतिहासमा स्मरणीय रहनेछ।
बसहरूमा रंगीन र आकर्षक विज्ञापनले केवल उत्पादनको परिचय मात्र बढाउँदैन, अवचेतन मनमा पनि प्रभाव पार्छ। विशेष गरी किशोर र युवा वर्गका लागि यस्तो प्रचार मौन प्रलोभनको रूपमा कार्य गर्छ। दैनिक यात्रा क्रममा यी विज्ञापन देख्दा बिस्तारै नशाप्रति आकर्षण बढ्न सक्छ, यो चिकित्सक र समाजशास्त्रीहरू लामो समयदेखि भन्छन्। यस वास्तविकतालाई स्वीकार गर्दै एनबीएसटीसीले यो “अप्रिय तर आवश्यक” निर्णय लिएको हो।
यस निर्णयको पछाडि नागरिक समाज र स्वयंसेवी संस्थाहरूको लामो समयदेखि चल्दै आएको माग पनि छ। बारम्बार प्रश्न उठाइएको थियो कि स्वास्थ्य चेतनामूलक कुरा गर्ने सरकारले कसरी अप्रत्यक्ष रूपमा जन-स्वास्थ्यका लागि हानिकारक उत्पादनको प्रचारमा सहयोग गर्न सक्छ? एनबीएसटीसीका वर्तमान अध्यक्ष पार्थप्रतिम राय र प्रबन्ध निर्देशक दीपंकर पिल्लैको नेतृत्वमा निगम बोर्डले यस प्रश्नलाई गम्भीरतापूर्वक लिएको छ। सरकारी प्रतिबन्ध, सामाजिक दबाब र नैतिक जिम्मेवारीको संयोजनमा यो निर्णय गरिएको निगमले स्पष्ट पारेको छ।
पश्चिम बंगालका अन्य परिवहन निगमहरू- दक्षिण बंगाल राज्य परिवहन निगम (एसबीएसटीसी) वा पश्चिम बंगाल परिवहन निगम (डब्ल्यूबीटीसी)का लागि पनि यो निर्णय ठूलो उदाहरण हुनेछ। केवल परिवहन विभाग मात्र होइन, सरकारका अन्य विभाग र रेलवेले पनि यस दिशामा विचार गर्नुपर्छ। राजस्वको कमी सम्भवतः अन्य माध्यमबाट पूर्ति गर्न सकिन्छ, तर जन-स्वास्थ्यलाई भएको हानी वित्तीय अंकले पूर्ति गर्न सकिँदैन।
अर्को महत्वपूर्ण पक्ष यो छ कि तम्बाकू उत्पादन केवल मानव स्वास्थ्यको लागि हानिकारक होइन, वातावरण र नागरिक सौन्दर्यबोधका लागि पनि घातक छ। बस, सडक वा सार्वजनिक स्थानमा थुक, प्याकेट फाल्नु, सबै यस नशाको परिणाम हो। त्यसैले तम्बाकू उत्पादनको प्रचार रोक्नु केवल स्वास्थ्य सुरक्षा होइन, स्वच्छ र जागरूक समाज निर्माणतर्फको कदम पनि हो।
आलोचकहरूले भन्न सक्छन् कि घाटामा चल्ने परिवहन संस्थाले यस्तो राजस्व त्याग गर्नु उचित हो कि होइन। तर यहीँ राज्यको जिम्मेवारीको सवाल उठ्छ। राजस्वको कमीलाई अन्य माध्यमबाट पूरा गर्न सकिन्छ जस्तै सेवा सुधार, स्वास्थ्यकर उत्पादन वा सामाजिक जागरूकता विज्ञापनमार्फत। तर जन-स्वास्थ्यमा भएको हानी कहिल्यै आर्थिक अंकले पूर्ति गर्न सकिँदैन। यही बुझाइले एनबीएसटीसीलाई नयाँ उचाइमा पुर्‍याएको छ।
यो निर्णय पश्चिम बंगालका अन्य परिवहन निगमहरू: एसबीएसटीसी वा डब्ल्यूबीटीसीका लागि पनि स्पष्ट सन्देश दिन्छ। केवल राज्य मात्र होइन, देशका अन्य राज्य परिवहन निगम, यहाँसम्म कि रेलवेजस्ता ठूलो सरकारी सेवा पनि यस उदाहरणको अनुसरण गर्न सक्छ। सरकारी संरचना कहिल्यै हानिकारक उत्पादनको प्रचारको साधन हुन सक्दैन; यस नीति अपनाउने समय धेरैअघि नै आएको थियो।
अन्ततः भन्न सकिन्छ कि एनबीएसटीसीको यो निर्णयले प्रमाणित गर्यो कि प्रशासनिक साहस अझै जिउँदो छ। १ करोड २५ लाख रुपैयाँको वित्तीय हानि हुन सक्छ, तर यसको बदले निगमले हासिल गरेको सामाजिक विश्वास, नैतिक उचाइ र जन-सम्मानको कुनै आर्थिक मूल्य छैन। विज्ञापनमा लुकेका विषाक्त प्रलोभनबाट आम मानिसलाई टाढा राख्ने यस प्रयासमा एनबीएसटीसी निस्सन्देह मार्गदर्शक छ।
उत्तरबंग राज्य परिवहन निगमलाई यस जनहितकारी, दूरदर्शी र साहसी निर्णयका लागि विनम्र श्रद्धाञ्जली। आशा छ, भविष्यमा यो संस्था केवल यात्री परिवहनमा मात्र होइन, सामाजिक जिम्मेवारी र स्वस्थ मूल्यहरूको संरक्षणमा पनि अरूलाई मार्गदर्शन गर्नेछ।

About Author

Advertisement