नयाँ दिल्ली: दिल्लीमा सोमबार कम्तीमा १० वटा विद्यालयलाई बम विस्फोट गराइने धम्कीपूर्ण इमेल प्राप्त भएपछि तनावको अवस्था सिर्जना भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले ती विद्यालय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका छन्।
दिल्ली अग्निशमन सेवा (डीएफएस) का अनुसार बिहान विभिन्न क्षेत्रका शैक्षिक संस्थाबाट आपतकालीन फोन आएका थिए। त्यसलगत्तै दमकल टोली तथा बम निष्क्रिय पार्ने दस्ता तत्काल घटनास्थलमा पठाइएको थियो।
डीएफएसका एक अधिकारीका अनुसार हालसम्म १० वटा विद्यालयलाई बमको धम्की प्राप्त भएको पुष्टि भएको छ। सबै विद्यालयहरू खाली गराई सुरक्षाकर्मीहरूले व्यापक खोजतलास गरिरहेका छन्। बम निरोधक दस्ता र श्वान दस्ता संयुक्त रूपमा परिसरको सूक्ष्म जाँचमा खटिएका छन्।
हालसम्म कुनै पनि विद्यालयबाट विस्फोटक पदार्थ फेला नपरेको जनाइएको छ। धम्कीपूर्ण इमेल पठाउने व्यक्तिको पहिचान र घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ।









