गंगटोक: सिक्किममा विगत केही दिनदेखि भुईचालोका झट्काहरू लगातार महसुस भइरहेका छन्, जसले स्थानीय जनमानसमा चिन्ता र डरको वातावरण उत्पन्न गरेको छ। यी झट्काहरू सामान्यदेखि माध्यम तीव्रताका भए तापनि निरन्तर आइरहेकाले आम जनमानसमा ठूलो त्रास फैलिएको छ।
विशेष गरी, भुईचालोका झट्काहरू प्रायः रातको समयमा महसुस भएका छन्। ५-६ फरवरी राति लगभग १३ पटक भुईचालोका झट्काहरू महसुस भएको जानकारी नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले दिएको छ। यस्तै, ६-७ फरवरी राति पनि ९ पटक सामान्यदेखि मध्यम तीव्रताको भुचाल आएको जनाइएको छ।
७-८ फरवरी राति पनि भुचालका झट्काहरू महसुस भएका छन्। यसका अतिरिक्त, ८ फरवरी अबेर राति देखि २ बजे दिउँसो सम्म सात पटक भुचालका झट्काहरू महसुस गरिए। भुचालका तीव्रताहरू रिक्टर स्केलमा २.१ देखि २.८ सम्म रेकर्ड गरिएको छ।
नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार, यी झट्काहरू विशेष गरी गेजिङ, नाम्ची र मङ्गनका क्षेत्रमा महसुस भएका छन्। ५-६ फरवरी रातिको भुचालले पश्चिम सिक्किमका केही विद्यालयहरूमा चिरा परेको समाचार आएको छ।










