खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी प्राथमिक स्वस्थ्य केन्द्रमा दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनद्वारा आवश्यक सर सामानहरु प्रदान गरिएको छ। यस अवसरमा घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई टेबल-चौकी, वेट मशीन, डस्टबिन, अलमारी,स्टेचर लगायत अन्य सामाग्रीहरु प्रदान गरिएको छ। यस कार्यक्रममा दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डन अन्तर्गत भारतको सदस्य कौशिक भट्टचार्य, तीनधारेको श्रीगणेश सहकारी समितिको सभापति विनयकुमार छेत्री, फोसेप दार्जिलिङको महासचिव भरतकुमार राई, सदस्य दिपक ठटाल लगायत अन्यहरु उपस्थित थिए। यस अवसरमा घैयाबारी क्षेत्रका स्थानीय ग्रामवासीहरुको उपस्थितिमा घैयाबारी स्वास्थ्य केन्द्रलाई उक्त सर सामानहरु प्रदान गरियो। यसको साथै आगामी दिनमा चाढै नै उक्त ट्रस्ट अनि महानदी तीनधारे समष्टिको सभासद नवराज छेत्रीको पहलमा घैयाबारी अस्पतालको लागि एउटा एम्बुलेन्सको निम्ति पनि पहल भईरहेको जानकारी गराइएको छ। यस अवसरमा अस्पताल पक्षले ट्रष्टका सम्पूर्ण सदस्यहरुलाई खदा लगाएर धन्यवाद ज्ञापन गरेका थिए।यसको साथै ग्रामवासीको पक्षबाट नरेन राईले पनि ट्रस्टका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिएका छन्। यस संस्थाले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य र पर्यावरणमाथि काम गर्दै आईरहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डन अन्तर्गत भारतको सदस्य कौशिक भट्टचार्यले दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनको तर्फबाट घैयाबारी अस्पतालमा आवश्यक सर सामानहरु प्रदान गरिएको जानकारी गराएका छन्। उनले दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनले शिक्षा, स्वास्थ्य र पर्यावरणमाथि कार्य गर्दै आईरहेको बताएका छन्।
त्यसरी नै विनयकुमार छेत्रीले दार्जिलिङ हिमालयन कम्युनिटी सर्विस लण्डनको तर्फबाट यसपाली चुनभट्टी उप स्वास्थ्य केन्द्र र घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक सर सामानहरु प्रदान गरिएको छ। उनले योभन्दा पहिला तीनधारे रेलवे अस्पताल, तीनधारेको राजबारी र शंकर निवास उप स्वास्थ्य केन्द्रमा पनि प्रदान गरिसकेको र भविष्यमा महानदी र गिद्द पहाडलाई प्रदान गरिने जानकारी गराएका छन्। उनले घैयाबारी अस्पतालमा आवश्यक रहेको एम्बुलेन्स पनि आफु र सभासद नवराज छेत्रीको पहलमा दुई महिनाभित्र प्रदान गरिने जानकारी गराएका छन्।









