नयाँ दिल्लीः सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) विरुद्ध राजनीतिक प्रताडनाको आरोप लगाउँदै भारतीय निर्वाचन आयोग (ईसीआई) मा औपचारिक उजुरी दर्ता गराएको छ।
पार्टीले राज्यमा विपक्षी दलका सदस्य तथा समर्थकहरूलाई लक्षित गर्दै राजनीतिक प्रतिशोध भइरहेको दाबी गर्दै निर्वाचन आयोगसँग तत्काल हस्तक्षेपको माग गरेको छ। क्याप प्रवक्ता महेश राई र राष्ट्रिय संयोजक पबिन हाङ सुब्बा ले निर्वाचन सदन, नयाँ दिल्लीमा आयोगसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।
सीएपीका अनुसार विपक्षी समर्थकहरूलाई मनमानी सरुवा, रोजगारीबाट हटाउने तथा अवसरबाट वञ्चित गर्ने कार्य भइरहेका छन्। पार्टीले लोकतान्त्रिक मूल्य, समान अवसर र नागरिकका संवैधानिक अधिकारको संरक्षणका लागि निर्वाचन आयोगले निर्णायक कदम चाल्नुपर्ने माग गरेको छ।
क्यापले लोकतन्त्र, पारदर्शिता र कानुनी शासनप्रतिको प्रतिबद्धता दोहोर्याउँदै आयोगले राज्यमा शक्ति दुरुपयोग रोक्ने र निर्वाचन निष्पक्षता सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।











