राशन उपभोक्ताहरु मार्कामा
खरसाङ: विभिन्न मागहरु लिएर दार्जिलिङ हिल्स फेयर प्राइज शप्स एसोसिएसनको आयोजनामा विगत १ फरवरीदेखि राशन दोकानहरु बन्द गरेर धारणा प्रदर्शन जारी रहेको छ भने यता खरसाङमा पनि उक्त प्रदर्शन जारी रहेको छ। दार्जिलिङ हिल्स फेयर प्राइज शप्स एसोसिएसनको आयोजनामा दार्जिलिङ जिल्ला र कालेबुङ जिल्लाभरि नै रहेका खाद्य विभागको कार्यालय अघि डिलरहरुले प्रदर्शन गरिरहेका छन्। यसै क्रममा खरसाङ महकुमा डिलर्स खाद्य एवं वितरण विभागको कार्यालय अघि पनि खरसाङ फेयर प्राइज शप्स एसोसिएसनको आयोजनामा गत १ फरवरीदेखि धारणा प्रदर्शन जारी रहेको छ। उक्त धरणा प्रदर्शन शुक्रवार छैटौँ दिनमा प्रवेस गरेको छ। छैटौँ दिन पनि खरसाङ महकुमा डिलर्स खाद्य एवं वितरण विभागको कार्यालय अघि खरसाङ फेयर प्राइज शप्स एसोसिएसनको तर्फबाट धारणा प्रदर्शन गरिएको छ। पहाडका डिलर्सहरुको माग अनुसार पहाड र मधेसमा एउटै दृष्टिकोणले हेरेर यातायातमा एउटै रकम दिने गरेको जुन मधेशको हेरि पहाडमा दोब्बर खर्च लाग्ने गरेको बताइएको छ। यसको साथै लेवर चार्च पनि पहाडमा दोब्बर लाग्ने गरेको बताइएको छ। यसको साथै अन्य विभिन्न मागहरु लिएर यो बन्द डाकेर धारणा प्रदर्शन गरिएको जानकारी प्राप्त भएको छ। खरसाङ फेयर प्राइज शप्स एसोसिएसनको आयोजनामा खरसाङ महकुमा डिलर्स खाद्य एवं वितरण विभागको कार्यालय अघि धारणा प्रदर्शन गरिरहेका डिलर्सहरुले विभिन्न समस्याहरु विषयमा जानकारी गराएका छन्। उक्त धरणा प्रदर्शनमा रहेका खरसाङ फेयर प्राइज शप्स एसोसिएसनको सचिव अजय प्रधानले पत्रकारहरुलाई सम्बोधन गर्दै पहाडमा रहेको राशन दोकानहरु गत 1 फरवरीदेखि बन्द गरेर धारणा प्रदर्शन गरिरहेको र शुक्रबार छैटौँ दिनमा प्रवेस गरेको बताएका छन्। उनले यो बन्द र धारणा प्रदर्शन विभिन्न मागहरु लिएर आयोजना गरिएको बताउँदै आफुहरुको समस्या नयाँ होइन तर धेरै पुरानो रहेको यसपाली साह्रै भएर बन्द गरेर धारणा प्रदर्शन गर्नु परेको बताए। उनले भने, पहिला पनि यस समस्याहरु विषयमा सभा भएको नै हो। तर केवल आश्वासन मात्र पाएर आश्वासनको भरमा नै छ महिना, आठ महिना, बाह्र महिनासम्म राशन दिएको नै हो। तर केवल आश्वासनको भरमा मात्र राशन दोकान चलाउन कठिन परेको र बन्द डाक्न बाध्य बन्नु परेको हो।’
उनले यस विषयमा प्रतिनिधि टोली कोलकातामा गएर कुराकानी गरिरहेको साथै बिहीबार मुख्य सचिवसहित भेट गरेर समस्याहरु राखेको साथै शुक्रवार कोलकोतामा खाद्य मन्त्रीसित यस विषयमा बैठक भईरहेको जानकारी गराएका छन्। सचिव अजय प्रधानले भने, हामी जनताको समस्या बुझ्छौँ र हामी पनि राशन बाँड्ने पक्षमा नै छौँ तर हाम्रो समस्या कसले बुझ्ने? यसपाली साह्रै भएर नै बन्द गर्नु परेको र यसपाली फरवरी महिनाको राशन नबाँडी बन्द गरेर धारणा प्रदर्शन गर्नु परेको हो।’
उनले अझ भने, हामीले ८६ देखि नै बन्दको समयमा पनि डरसरि भएर पनि जनतालाई राशन दिएको नै हो। कोविडको समयमा पनि जनतालाई राशन दिएको नै हो। सरकारले हामीलाई कोविडको समयमा केही दिएन। तर पनि राशन बाँडेको हो हामीले।’
उनले खरसाङ क्षेत्रमा जम्मा ११० वटा राशन दोकानहरु रहेको बताएका छन्। सचिव अजय प्रधानले अब सरकारको नयाँ नियम लागु हुन आँटेको र यदि यो नियम लागु भएमा पहाडमा राशन दोकानहरु नरहने र राशन उपभोक्ताहरु पनि नरहने बताएका छन्। उनले यस नयाँ नियममा एनएफए वर्गमा ‘एवाई’ को राशन कार्डहरु मात्रै राखेर अरु कार्डहरु काट्ने कुरा छ। यही अनुसार राशन काटिए राशन उपभोक्ताहरु कोही नरहने उनको भनाइ छ।
यस विषयमा उनले पत्रकारहरुलाई नयाँ राशनको मापदण्ड अनुसार पक्का घर हुनेहरु, गाडी हुनेहरु, दुई चक्के वाहन, ट्रेड लाइसेन्स हुनेहरु, किसान क्रेडिट कार्डमा पचास हजारसम्मको क्रेडिट कार्ड हुनेहरु, सिँचाईको जमीन हुने किसानहरु लगायत अन्य थुप्रै वर्ग छुट्टाइएको छ जुन अनुसार पहाडमा कसैले पनि राशन पाउन सक्दैन र सरकारलाई हाम्रो प्रश्न छ कि यो नियम लागु भए कसलाई राशन वितरण हो गर्नु?









