दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएले दार्जीलिङ र कालेबुङ जिल्लाका एमआर शप डिलर्सहरूले भोग्दै आएका समस्याको समाधानका लागि कदम चालेको छ। जीटीएका प्रमुख कार्यपाल अनित थापाको हस्ताक्षरित पत्र लिएर जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान कोलकाता पुगेका थिए। आज कोलकातास्थित खाद्य भवनमा चौहानले पश्चिम बंगालका खाद्य मन्त्री रतिन घोषसँग भेट गरी पत्र औपचारिक रूपमा हस्तान्तरण गरे। पत्र हस्तान्तरणपछि आयोजित बैठकमा एमआर शप डिलर्सहरूको वर्तमान अवस्था र उनीहरूका गम्भीर समस्याहरूबारे विस्तृत छलफल भएको जानकारी प्राप्त भएको छ। राजेस चौहानले मन्त्रीको ध्यानाकर्षण गराउँदै भने, “एमआर शप डिलर्सहरूले लामो समयदेखि आफ्ना माग राख्दै आएका छन्, तर ठोस समाधान भएको छैन। यसैले उनीहरू अनिश्चितकालीन हडतालमा उत्रिएका छन्, जसको प्रत्यक्ष असर सर्वसाधारण जनतामा परिरहेको छ।”
चौहानले अझ भने, “हडतालका कारण खाद्यान्न वितरण प्रणाली प्रभावित भएपछि गरीब जनताले राशन पाउन कठिनाइ भोग्नुपरेको छ। राज्य सरकारले यसको शीघ्र समाधानका लागि संवेदनशीलता देखाउनुपर्छ।”
जीटीएले जनसरोकारका विषयमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै, एमआर डिलर्स र आम नागरिक दुवैको हित हुने गरी समस्या समाधान गर्न राज्य सरकारसँग सकारात्मक पहलको अपेक्षा गरेको छ। बैठक सकारात्मक वातावरणमा सम्पन्न भएको जनाइएको छ।










