हरारे: भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गरी आईसीसी अण्डर-१९ विश्व कपको फाइनलमा प्रवेश गऱ्यो। शुक्रवार खेलिने फाइनलमा भारतको भिड़न्त ईंग्ल्याण्डसँग हुनेछ। बुधवार सेमिफाइनलमा जीतको साथ भारतले रेकर्ड छैटौंपल्ट खिताब जित्ने दिशामा कदम बढ़ायो। भारतले यसअघि पाँचपल्ट खिताब जितिसकेको छ। हरारे स्पोर्ट्स क्लबमा बुधवार टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन बनायो। त्यसपछि भारतले ५३ बल बाँकी रहँदै ३ विकेटमा ३११ रनको लक्ष्यलाई हासिल गरी फाइनलमा नाम लेखायो। भारतको यस जीतमा ओपनर आरोन जर्ज (११५ रन) को महत्त्वपूर्ण योगदान रह्यो। अफगानिस्तानको निम्ति फैसल शिनोजादा र उजैरुल्लाह निआजाइले शतक बनाए। यसमा शिनोजादाले १५ वटा चौकाको सहायताले ९३ बलमा ११० रन बनाए। यसरी निआजाइ १०१ रनमा अविजित रहे। उनले ८६ बल खेलेर १२ वटा चौका र २ वटा छक्का लगाए। यी दुईबाहेक ओस्मान सदतले ३९ र खालिद अहमदजईले ३१ रनको योगदान दिए। भारतीय बलरहरूमा दीपेश देवेन्द्रन र कनिष्क चौहानले २-२ विकेट हासिल गरे। जवाफमा भारतीय ब्याटरहरूले शुरुदेखि नै आक्रामक मिजासमा ब्याटिंग गरे। विशेषगरी ओपनर वैभव सूर्यवंशीले विध्वंशी मिजासमा खेल्दै तेज गतिमा रन बनाए। वैभव र जर्जले मिलेर पहिलो विकेटको निम्ति ९.३ ओभरमा ९० रनको पार्टनरशीप गरे। वैभव ३३ बलमा ९ वटा चौका र ४ वटा छक्काको साथ ६८ रन बनाएर आउट भए। त्यसपछि जर्जले कप्तान अयुष म्हात्रेबाट असल साथ पाए। यी दुईजनाले पदोस्रो विकेटको निम्ति ११४ रनको पार्टनरशीप गरे। म्हात्रेले टुर्नामेण्टमा आफ्नो दोस्रो अर्द्धशतक बनाए। उनी ५९ बलमा ५ वटा चौका र ४ वटा छक्काको साथ ६२ रन बनाएर आउट भए। यसरी २०४ रनमा दोस्रो विकेटको पतनपछि जर्जले विहान मल्होत्रासँग मिलेर स्कोरलाई ३०० रनसम्म पुऱ्याए। आरोन जर्जले १०४ बल खेलेर १५ वटा चौका र २ वटा छक्काको साथ ११५ रन बनाए। त्यसपछि भारतलाई म्याच जित्न कुनै समस्या भएन। मल्होत्रा ३८ रनमा अनि वेदान्त त्रिवेदी ५ रनमा अविजित रहे।









