मुंबई: कुनै समय उनका मुखबाट निस्किएको चर्चित संवाद- “हामी कुनै मन्दिरको घण्टी हौँ र, जो कोही आएर बजाइदिन्छ?”, सुनेर दर्शकहरू हाँसोले लोटपोट हुन्थे। तर यही संवाद बोल्ने अभिनेता राजपाल यादवलाई फेरि एकपटक जेल जानुपर्ने भएको छ। मंगलबार दिल्ली उच्च अदालतले चेक बाउन्स मुद्दामा लोकप्रिय अभिनेता दोषी ठहर भएको स्पष्ट गरेको छ। यसकारण उनलाई बुधबार आत्मसमर्पण गर्नुपर्नेछ।
लामो समयदेखि अभिनेता जमानतमा बाहिर थिए। उनले अदालतसँग सम्बन्धित रकम फिर्ता गर्ने वाचा गरेका थिए। यही आश्वासनलाई ध्यानमा राख्दै अदालतले अहिलेसम्म उनीप्रति नरम दृष्टिकोण अपनाएको थियो। तर मंगलबार दिल्ली उच्च अदालतले अब यो नरमी फिर्ता लिइने स्पष्ट गरेको छ, किनकि वाचा गरे पनि राजपाल यादवले सम्पूर्ण रकम फिर्ता गरेका छैनन्। अदालतलाई दिएको आश्वासन पूरा हुन सकेन। जुन २०२४ मा ट्रायल कोर्टले दिएको सजामाथि रोक लगाइएको थियो, तर अब त्यो राहत कायम राख्न सम्भव नभएको अदालतले जनाएको छ। यस्तो अवस्थामा राजपाल यादवको जेलयात्रा निश्चित मानिएको छ।
उल्लेखनीय छ कि अप्रिल २०१८ मा मजिस्ट्रेट अदालतले राजपाल यादवलाई छ महिनाको कारावास सजाय सुनाएको थियो। उक्त फैसलालाई चुनौती दिँदै अभिनेता र उनकी पत्नी दिल्ली उच्च अदालत पुगेका थिए, जसपछि चेक बाउन्स मुद्दामा उनीहरूको सजामाथि रोक लगाइएको थियो। सन् २०२४ मा फेरि उनलाई दोषी ठहर गरिए पनि त्यसबेला सजालाई अस्थायी रूपमा स्थगित गरिएको थियो। अदालतले मुद्दाको टुंगो आपसी समझदारी वा रकम फिर्ताबाट निस्किने अपेक्षा गरेको थियो।
प्राप्त जानकारीअनुसार, गत वर्ष अक्टोबरमा राजपाल यादवले डेढ करोड रुपैयाँको डिमान्ड ड्राफ्ट बुझाएका थिए, तर अझै करिब ९ करोड रुपैयाँ फिर्ता दिन बाँकी छ। हाल राजपाल यादव कामको सिलसिलामा मुम्बईमा छन्। दिल्ली उच्च अदालतको आदेशअनुसार उनलाई बुधबार साँझ ४ बजेसम्म जेल प्रशासनसमक्ष आत्मसमर्पण गर्नुपर्नेछ। यसअघि पनि अभिनेता तीन दिन तिहाड जेलमा बिताइसकेका छन्। यसपटक पनि उनको ठेगाना तिहाड जेल नै हुने सम्भावना व्यक्त गरिएको छ। यस मुद्दाको अर्को सुनुवाइ बिहबार दिल्ली उच्च अदालतमा हुनेछ।









