विश्व क्यान्सर दिवसमा मणिपाल हस्पिटल्स कोलकाताको पहल

IMG-20260204-WA0042

कोलकाता: विश्व क्यान्सर दिवसको अवसरमा मणिपाल हस्पिटल्स कोलकाताले आफ्ना अनकलोजी सेवाहरूलाई अझ सुदृढ बनाएको छ। यस अवसरमा औपचारिक रूपमा मणिपाल कम्प्रिहेन्सिभ क्यान्सर केयर सेन्टरको उद्घाटन गरियो, जसमा अत्याधुनिक क्लिनिकल हेमाटोलोजी, हेमाटो–अनकोलोजी तथा बोन म्यारो ट्रान्सप्लान्ट युनिट समावेश छन्। साथै, क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानलाई प्राथमिकता दिँदै मणिपाल फाउन्डेसनको पहल तथा कोलकाता म्युनिसिपल कर्पोरेसनको सहयोगमा ‘कवच’ नामक एक कम्युनिटी हेल्थ स्क्रिनिङ कार्यक्रम सुरु गरिएको छ।
मणिपाल हस्पिटल, ईएम बाइपासमा आयोजित यस कार्यक्रममा कोलकाता म्युनिसिपल कर्पोरेसनका माननीय मेयर श्री फिरहाद हाकिम, प्रमुख सचिव (स्वास्थ्य) श्री नारायण स्वरूप निगम, आईएएस, केएमसी (वार्ड १०९) की काउन्सिलर श्रीमती अनन्या बन्द्योपाध्याय, मणिपाल फाउन्डेसनका सीईओ श्री हरिनारायण शर्मा, मणिपाल कम्प्रिहेन्सिभ क्यान्सर सेन्टर तथा अनको रोबोटिक सर्जरी, नर्थ–वेस्ट क्लस्टरका चेयरम्यान डा. सुरेन्द्र कुमार दाबास, मणिपाल हेल्थ एण्टरप्राइज प्राइभेट लिमिटेडका चिफ अफ मेडिकल सर्भिसेस डा. मुरली श्रीनिवासन, ईस्ट रिजनका रिजनल डाइरेक्टर डा. अयानभ देवगुप्ता, मणिपाल कम्प्रिहेन्सिभ क्यान्सर केयर (मुकुन्दपुर, साल्टलेक र सिलिगुडी क्लस्टर) का डाइरेक्टर डा. सौरभ दत्त तथा मुकुन्दपुर क्लस्टरका क्लस्टर डाइरेक्टर श्री कमल दाशोरा उपस्थित थिए।
नयाँ कम्प्रिहेन्सिभ क्यान्सर केयर सेन्टरको सुरुआतले पूर्वी भारतको अनकोलोजी पूर्वाधारमा रहेको एक महत्वपूर्ण कमीलाई पूर्ति गर्ने अपेक्षा गरिएको छ। यस क्षेत्रमा क्यान्सरको प्रकोप बढ्दो छ, जससँगै रोग ढिलो पहिचान हुनु र समन्वित उपचार सेवाको सीमित उपलब्धता जस्ता चुनौतीहरू पनि छन्। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) तथा क्षेत्रीय क्यान्सर रजिस्ट्रीका तथ्याङ्कअनुसार पश्चिम बंगाल, ओडिशा, बिहार तथा उत्तर–पूर्व भारत मिलेर देशका क्यान्सर रोगीहरूको ठूलो हिस्सा यही क्षेत्रमा पर्दछन्। विशेषगरी टाउको–घाँटी, पाचन प्रणाली, स्तन तथा रगतसम्बन्धी क्यान्सरको प्रकोप यहाँ बढी देखिन्छ। करिब ६० प्रतिशत क्यान्सर रोगीहरू रोगको उन्नत चरणमा पहिचान हुने हुँदा उपचार जटिल हुन्छ र नतिजा तुलनात्मक रूपमा कम आशाजनक हुन्छ।
यस केन्द्रलाई एकै छानामुनि रोकथाम, स्क्रिनिङ, प्रारम्भिक पहिचान, मेडिकल तथा सर्जिकल अनकोलोजी, रेडिएसन अनकोलोजी, हेमाटोलोजी, बोन म्यारो ट्रान्सप्लान्ट, सहायक उपचार तथा सर्वाइभरशिप सेवाहरू प्रदान गर्ने लक्ष्यसहित, एक समन्वित मल्टिडिसिप्लिनरी मोडेलका आधारमा विकास गरिएको छ।
ल्यूकेमिया, लिम्फोमा तथा मल्टिपल मायलोमा जस्ता हेमाटो–अनकोलोजिक रोगहरू भारतका कुल क्यान्सर रोगहरूको करिब ७–८ प्रतिशत हिस्सा ओगट्छन्। आईसीएमआरका अनुसार प्रत्येक वर्ष देशमा एक लाखभन्दा बढी नयाँ रगतसम्बन्धी क्यान्सर रोगी पहिचान हुन्छन्। यस्ता धेरै रोगहरूमा बोन म्यारो ट्रान्सप्लान्ट सम्भावित उपचारात्मक उपाय भए पनि, ठूला सहरबाहिर यसको उपलब्धता अझै सीमित छ। इन्डियन सोसाइटी अफ ब्लड एण्ड म्यारो ट्रान्सप्लान्टेशनका अनुसार हालसम्म देशभर २५,००० भन्दा बढी स्टेम सेल ट्रान्सप्लान्ट सम्पन्न भएका छन्, तर वार्षिक रूपमा ३,००० भन्दा कम मात्र ट्रान्सप्लान्ट सम्भव भइरहेको छ, जुन वास्तविक आवश्यकताभन्दा निकै कम हो। यस सन्दर्भमा प्रा. (डा.) राजीव देको नेतृत्वमा मणिपाल हस्पिटल्स कोलकाताको बोन म्यारो ट्रान्सप्लान्ट युनिटले पूर्वी भारतका रोगीहरूका लागि विशेषज्ञ तथा जीवनरक्षक उपचारको पहुँच उल्लेखनीय रूपमा बढाउनेछ।
यस अवसरमा मणिपाल कम्प्रिहेन्सिभ क्यान्सर केयर (मुकुन्दपुर, साल्टलेक तथा सिलिगुडी क्लस्टर) का डाइरेक्टर डा. सौरभ दत्तले भने,“मणिपाल कम्प्रिहेन्सिभ क्यान्सर केयर सेन्टरको सुरुआत पूर्वी भारतको अनकोलोजी केयर प्रणालीलाई अझ सुदृढ बनाउने दिशामा एक महत्वपूर्ण माइलस्टोन हो। अनुभवी र समर्पित अनकोलोजिस्टहरूको टोलीसहित हामी रोकथाम, सचेतना, प्रारम्भिक पहिचान, उन्नत डायग्नोस्टिक्स, मेडिकल तथा सर्जिकल अनकोलोजी, रेडिएसन थेरापी, हेमाटोलोजी र बोन म्यारो ट्रान्सप्लान्ट—सम्पूर्ण क्यान्सर उपचारलाई एक समन्वित ढाँचामा ल्याउँदैछौं। हेमाटोलोजिक क्यान्सरका सही रूपमा चयन गरिएका रोगीहरूमा बोन म्यारो ट्रान्सप्लान्टमार्फत करिब ६०–८० प्रतिशत दीर्घकालीन जीवनदर सम्भव हुन्छ। यस्ता उन्नत उपचार घर नजिकै उपलब्ध हुँदा रोगी तथा परिवारको शारीरिक, मानसिक र आर्थिक बोझ धेरै हदसम्म कम हुन्छ, साथै निदानदेखि उपचार र सर्वाइभरशिपसम्म निरन्तर हेरचाह सुनिश्चित गर्न सकिन्छ।”
उन्नत क्लिनिकल सेवासँगै ‘कवच’ कम्युनिटी हेल्थ स्क्रिनिङ कार्यक्रमले क्यान्सरसम्बन्धी सचेतना, प्रारम्भिक चरणमै रोग पहिचान तथा रोकथामात्मक स्क्रिनिङको महत्त्वलाई विशेषगरी समाजका पछाडि परेका र सेवा–वञ्चित वर्गबीच उजागर गरिरहेको छ। यी पहलहरूमार्फत मणिपाल हस्पिटल्स कोलकाताले क्यान्सर उपचारमा उत्कृष्टता हासिल गर्नुका साथै समाजसँग सक्रिय रूपमा जोडिँदै रोकथाम, प्रारम्भिक पहिचान तथा समन्वित, रोगी–केन्द्रित उपचारद्वारा क्यान्सरको बोझ कम गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

About Author

Advertisement