बंग भवनबाहिर सुरक्षाकर्मीसँग ममता बनर्जीको भनाभन

sanmarg_2026-02-02_brw09bxp_HAI9-SxbgAEsqef

नयाँ दिल्ली: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको सोमबार दिल्लीस्थित बंग भवनबाहिर तैनाथ सुरक्षाकर्मीसँग भनाभन भएको छ। उनले आफू एसआईआर (विशेष गहन पुनरावलोकन) प्रक्रियाबाट प्रभावित परिवारलाई न्याय दिलाउन राष्ट्रिय राजधानी आएको स्पष्ट पार्दै आन्दोलन गर्न नआएको बताइन्।
आइतबार दिल्ली पुगेकी बनर्जी पश्चिम बंगाल सरकारको आधिकारिक अतिथिगृह बंग भवन पुगेकी थिइन्, जहाँ एसआईआरबाट प्रभावित परिवारहरू बसोबास गरिरहेका छन्। बंग भवनबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।
मुख्यमन्त्री बनर्जीले सुरक्षाकर्मीसँग प्रत्यक्ष संवाद गर्दै एसआईआरबाट प्रभावित बंगालका नागरिकप्रति संवेदनशील हुन आग्रह गरेकी थिइन्। उनले बंग भवनमा बसेका बंगालका नागरिकलाई धम्की दिइएको आरोप लगाइन्।
मिडियासँग कुरा गर्दै उनले भनिन्, “हाम्रो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, निर्वाचन आयोगसँग पनि हाम्रो भेट तय छ। मानिसहरूको ज्यान गइसकेको छ, के पीडित परिवारले मिडियासँग बोल्न पनि नपाउने?” उनले सोमबार अपराह्न एसआईआर विषयमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारसँग भेट गर्ने कार्यक्रम रहेको जानकारी दिइन्।
मुख्यमन्त्रीले दिल्लीमा एसआईआरबाट प्रभावित परिवार जहाँ-जहाँ बसेका छन्, त्यहाँ दिल्ली पुलिस तैनाथ गरिएको भन्दै प्रश्न उठाइन्। “दिल्लीमा विस्फोट हुँदा दिल्ली पुलिस कहाँ हुन्छ?” भन्दै उनले शीर्ष तहका जिम्मेवार व्यक्तिमाथि आरोप लगाइन्।
“म दिल्ली पुलिसलाई दोष दिँदिनँ, तर माथिल्लो तहका अधिकारीहरू असफल छन्,” बनर्जीले भनिन्, “उनीहरू देशको रक्षा गर्न सक्दैनन्, बरु बंगाल र आम नागरिकलाई एसआईआरको नाममा प्रताडित गरिरहेका छन्।”
आफू दिल्ली आउँदा सत्तापक्ष डराउने गरेको दाबी गर्दै उनले दिल्ली ‘जमीन्दारीजस्तै’ बनेको टिप्पणी गरिन्। “यदि म आन्दोलनका लागि आएको भए, तपाईंहरूको अवस्था अर्कै हुन्थ्यो,” भन्दै उनले एसआईआरबाट प्रभावित परिवारलाई दुःख नदिन सुरक्षाकर्मीलाई आग्रह गरिन्।
एसआईआरको विरोधमा बनर्जीले सर्वोच्च अदालतमा रिट दायर गरिसकेकी छन्। यसैबीच, प्रहरीले चाणक्यपुरीस्थित बंग भवन र मण्डी हाउस क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाएको छ।

About Author

Advertisement