हेभीवेट प्रतिस्पर्धा भएका क्षेत्रमा उच्च तहका पुलिस अधिकृत खटाइँदै

IMG-20260202-WA0113

काठमाडौं: प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पुलिसले अति संवेदनशील मानिएका निर्वाचन क्षेत्रहरूमा उच्च तहका पुलिस अधिकृत खटाउने तयारी गरेको छ। ‘हेभीवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा हुने जिल्लामा पुलिस वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा सुरक्षा परिचालन गर्नेबारे पुलिस प्रधान कार्यालयमा आन्तरिक छलफल भइरहेको छ।
पुलिस स्रोतका अनुसार झापा, सर्लाही र दोलखालाई निर्वाचन सुरक्षाको दृष्टिले चुनौतीपूर्ण जिल्ला ठहर गरिएको छ। तराई–मधेसका अन्य केही जिल्लालाई पनि जोखिमयुक्त मानेर त्यहाँ उच्च दर्जाका अधिकृत खटाउने तयारी भइरहेको छ।
सबैभन्दा संवेदनशील जिल्लाको रूपमा झापालाई लिइएको छ। झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन्। सोही जिल्लाबाट निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर पनि उम्मेदवार रहेकाले सुरक्षा चुनौती उच्च देखिएको प्रहरीको निष्कर्ष छ।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा, रास्वपाका अमरेशकुमार सिंह र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। त्यसैगरी, दोलखामा विगतमा बुथ कब्जा र झडपका घटना भएकाले त्यहाँ पनि उच्च तहको सुरक्षा सुपरभिजन गरिने तयारी छ।
पुलिस प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार निर्वाचनको सुरक्षामा डीएसपी र एसपीहरू प्रत्यक्ष रूपमा फिल्डमा खटाइनेछन् भने एसएसपी तथा त्यसभन्दा माथिका अधिकृतले समग्र सुपरभिजन गर्नेछन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सिटका लागि मतदान हुँदैछ। केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षामा नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी तीन लाख १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ।

About Author

Advertisement