खरसाङ: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको दुई दिवसीय छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा शुरु भएको छ। २०१८ मा सिटोङबाट नै शुरु भएको स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलन यसपाली सिटोङमा नै भएको छ। खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँ, गोल घरमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता स्रष्टा सङ्गमको केन्द्रीय सभापति एल्डर राजु राईको अध्यक्षतामा र वरिष्ठ पास्टर रेभरेन्ट पीडी भोंग्मूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रेभ डा. छत्र सुब्बा पावल, प्रेरित ध्रुव ‘शिष्य’, रेभरेन्ट डा. हेमन्त काँफ्ले, वरिष्ठ गायक तथा संगीतकार राम विष्ट, एडना घले, रेभरेन्ट दया छिरिङ लेप्चा, प्राध्यापक मेहेरमान सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए। हनोक थापाले सञ्चालन गरेको टछैटौँ वार्षिक सम्मेलनको संयोजिका सन्ध्या आचार्यले स्वागत सम्भाषण राखेका थिए। महासचिव पास्टर शरण ‘शरद’ को शुरुको प्रार्थनाद्वारा थालिएको पहिलो दिनको कार्यक्रममा स्थानीय चर्च सिलोआम चर्च र हिमालयन पेन्टीकोस्टल चर्चको युवा झुण्डद्वारा गीत र कोरसहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्रष्टा सङ्गमको उद्देश्य र औचित्य विषयमा स्रष्टा सङ्गमको केन्द्रीय महासचिव पा शरण ‘शरद’ ले आफ्नो वक्तव्य राखेका थिए। कार्यक्रममा तितस लेप्चा स्मृति पुस्तकालय सिटोङको तर्फबाट सृजन छेत्री र रेहान छेत्रीले कविता पठन गरेका थिए। कार्यक्रममा गायिका उषा राई महिमाले गीत प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा स्रष्टा सङ्गमको वार्षिक मुख पत्र ‘दृष्टि’ को लोकार्पण सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट लोकार्पण गरिएको छ। यस वार्षिक मुख पत्रमाथि सम्पादकीय मन्तव्य एल्डर राजु राईले मन्तव्य राखेका थिए। यसै कार्यक्रममा स्रष्टा सङ्गमको सह सचिव पास्टर रमेश ‘रुबेन’ राईको दुईवटा पुस्तकहरु ‘ख्रीष्टकेन्द्रीय अमूल्य रत्नहरु’ र ‘आशाको ऋतु’ पनि लोकार्पण गरिएको छ। यस दुईवटा पुस्तकहरु विषयमा लेखक पास्टर रमेश रुबेन राईले आफ्नो मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा ‘इसाई पत्र पत्रिकाहरु र मण्डलीमा यसको भूमिका’ विषयमा स्रोत व्यक्ति रेभरेन्ट डा छत्र सुब्बा पावलले वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक राम विष्टले गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि रेभरेन्ट पीडी भोंग्मूले आफ्नो सम्बोधनमा स्रष्टा सङ्गमको स्थापना २०१८ मा हुँदा पनि आफु उपस्थित हुन पाएको र यसपाली पनि उपस्थित हुन पाएकोमा खुसी व्यक्त गरे। उनले आफुले लेख्न नसके पनि स्रष्टाहरुले लेखेका रचनाहरु पढ्न खुशी लाग्ने गरेको र आशिष पाउने बताए। कार्यक्रममा उपस्थित स्रष्टाहरुले आफ्ना आफ्ना रचनाहरु वाचन गरेका थिए।

यस रचना पठनको कार्यक्रमलाई कवि रवि रोदनले सञ्चालन गरेका थिए। कार्यक्रममा सिक्किम, कालेबुङ, दार्जिलिङ, बिजनबारी, खरसाङ, सिलगढी, सालबारी क्षेत्रबाट आएका स्रष्टाहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए। सबै रचनाहरुलाई प्राध्यापक मेहेरमान सुब्बा पर्यवेक्षकको रूपमा उपस्थित रहेका थिए। उनले स्रष्टाहरुले पठन गरेका रचनाहरुलाई लिएर पर्यवेक्षकीय टिप्पणी राखेका थिए। यसै कार्यक्रमको अन्त्यमा स्रष्टा सङ्गमको वार्षिक साधारण सभा पनि आयोजना गरिएको छ।










