१ अक्टोबरः भारतका पूर्व कप्तान तथा बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले अक्टोबर महिनादेखि अष्ट्रेलियामा शुरु हुने आईसीसी टी२० विश्व कप २०२२-मा जसप्रीत बुमराहले खेल्ने सम्भावनाबारे खुलेर बात गरेका छन्। गांगुलीले बताएअनुसार, बुमराह टी२० विश्व कपबाट बाहिर भएका छैनन् कारण यस मेगा इभेण्टको आयोजन १६ अक्टोबरदेखि हुनेछ। गांगुलीले भने, जसप्रीत बुमराह अहिले नै टी२० विश्व कपबाट बाहिर भएका छैनन्। विश्व कप शुरु हुनमा अझ केही समय रहेको छ। हतारमा केही नराम्रो नसोचौं। यसअघि बिहीवार बीसीसीआई-का एकजना अधिकारीले बुमराह ढाड़को चोटले गर्दा कम्तीमा ६ महिना खेलदेखि टाढ़ा रहने अनि टी२० विश्व कप खेल्न नसक्ने बताएका थिए। अधिकारीले बुमराहको ढाड़मा स्ट्रेस फ्र्याक्चर रहेको अनि उनले लामो समयसम्म विश्राम गर्ने आवश्यकता रहेको दावी गरेका थिए।
अष्ट्रेलिया विरुद्ध हालै सम्पन्न टी२० सीरीजको दोस्रो अनि तेस्रो म्याच खेल्ने बुमराहले दक्षिण अफ्रिका विरुद्ध सीरीजको पहिलो म्याच खेल्न टीमसँग तिरुवनन्तपुरम यात्रा गरेका थिए तर म्याचको ठीक अघि ढाड़को चोटले उनलाई पिरोल्यो। त्यसपछि उनले रिह्याबिलिटेशनको निम्ति राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए), बेंगलुरु प्रस्थान गरे। घुँड़ाको चोटबाट मुक्त हुने प्रक्रियामा रहने रविन्द्र जडेजापछि बुमराह चोटले थला पर्ने भारतीय क्रिकेट टीमका दोस्रो सीनियर सदस्य हुन्। भारतीय टीम गत केही समयदेखि प्रदर्शनमा उतार-चड़ाउसँग संघर्ष गरिरहेको छ। त्यहीमाथि अहिले बुमराहको चोटले कप्तान रोहित शर्माको समस्यालाई बढ़ाएको छ। बीसीसीआई-का एकजना वरिष्ठ अधिकारीले भने, बुमराह र जडेजालाई गुमाउनु भारतको निम्ति ठूलो धक्का हो। बुमराहलाई कार्यभार प्रबन्धनको नीति अनुसार एशिया कपको निम्ति विश्राम दिइएको थियो। आईसीसी टी२० विश्व कप २०२२-मा भारतको पहिलो म्याच चीरप्रतिद्वन्द्वी पाकिस्तान विरुद्ध रहेको छ। यी दुई टीमबीच २३ अक्टोबरको दिन मेलबर्न क्रिकेट ग्राउण्डमा भिड़न्त हुनेछ। गत टी२० विश्व कपमा भारतले पाकिस्तान विरुद्ध हारको सामना गर्नु परेको थियो।