नाम्ची: नाम्ची जिल्लाका लागि आयोजना गरिएको तीनदिने प्रधानमन्त्री विश्वकर्म मेला आज नाम्चीको सेन्ट्रल पार्कमा सुरु भएको छ। मेलाको उद्घाटन नाम्ची–सिङ्गीथाङका विधायक सतीशचन्द्र राईले गरेका हुन्।
भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालयअन्तर्गत एमएसएमई–विकास एवं सुविधा कार्यालय, गान्तोकद्वारा आयोजना गरिएको मेलाको मुख्य उद्देश्य परम्परागत कारीगर तथा हस्तकला व्यवसायीहरूको प्रवर्द्धन र सशक्तीकरण गर्नु रहेको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक राईले प्रधानमन्त्री विश्वकर्म मेला स्थानीय कारीगरहरूको विकासमा महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्री विश्वकर्म योजना अत्यन्त लाभदायक तथा प्रभावकारी पहल भएको उल्लेख गर्दै युवाहरूलाई यस अवसरबाट वञ्चित नहुन आग्रह गरे।
कौशल विकासको महत्त्वमाथि जोड दिँदै उनले योजनाअन्तर्गत प्रदान गरिने निःशुल्क तालिमको अधिकतम फाइदा उठाएर दीर्घकालीन लाभ लिन युवाहरूलाई प्रेरित गरे। साथै, सेन्ट्रल पार्कमा रहेका दोकान सञ्चालकहरूलाई स्थानीय कारीगरहरूलाई सहयोग गर्न आह्वान गर्दै सामूहिक प्रगतिले सबैको हित सुनिश्चित गर्ने बताए।

कार्यक्रममा उनले कारीगर तथा स्वयं सहायता समूहहरूलाई आफ्नो छुट्टै पहिचान झल्किने डिजाइन र शैली विकास गर्न सुझाउ दिँदै यसले उत्पादनको बिक्री र बजार विस्तारमा सहयोग पुर्याउने बताए।

यस अवसरमा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले प्रधानमन्त्री विश्वकर्म योजना कारीगरहरूको समग्र उत्थानका लागि सुरु गरिएको बताइन्। योजनामार्फत सहज रूपमा लाभ उपलब्ध गराइए पनि अझै धेरै योग्य कारीगरहरू यसबाट वञ्चित रहेको उनको भनाइ थियो। उनले योजनाअन्तर्गत निःशुल्क तालिम र आवश्यक उपकरणसमेत उपलब्ध गराइने जानकारी दिँदै कारीगरहरूलाई यी सुविधाहरूको पूर्ण उपयोग गर्न आग्रह गरिन्।









