जोरथाङ: जूम सालघारी निर्वाचन क्षेत्रबाट विपक्षी दल परित्याग गरी कूल १ सय १७ जना सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) मा प्रवेश गरेका छन्। जोरथाङस्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा क्षेत्रीय विधायक मदन सिञ्चुरीले नवप्रवेशी सदस्यहरूलाई स्वागत गरेका हुन्।
एसकेएमद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा बोल्दै विधायक सिञ्चुरीले पार्टीमा प्रवेश गर्ने सदस्यहरूलाई बधाई दिँदै एकताबद्ध भएर एउटै परिवारका रूपमा काम गर्न आग्रह गरे। उनले एसकेएम समावेशी राजनीति गर्ने पार्टी भएको उल्लेख गर्दै सिक्किमेली जनताको हितमा पार्टी नेतृत्वको सरकारले थालेका विभिन्न पहल र कार्यक्रमबारे जानकारी गराए।
कार्यक्रममा एसकेएममा प्रवेश गर्ने पूर्व पञ्चायत केबी राई, विनोद राई, अमिर राई तथा राजीव थुलुङले पनि सम्बोधन गरेका थिए। उनीहरूले पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व, नीति तथा जनकल्याणमुखी सोचको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा वरिष्ठ नेता तथा सिक्किम राज्य ब्याङ्कका सल्लाहकार बिरेनचन्द्र राई, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, सामाजिक सञ्जाल विभागका अध्यक्ष नवीन दाहाल, राज्यस्तरीय युवा संयोजक खगेन राई, सीएलसी अध्यक्ष राजेश राईलगायत पार्टीका सक्रिय सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।










