सोनादा: किराँती खम्बु राई संस्कृति संस्थान (केकेआरएस) सोनादा शाखाले इन्द्रेणी छाँगो खोलामा परम्परागत विधिपूर्वक यासांबा-दोसांबा पूजा सम्पन्न गरेको छ। यस विशेष पूजाले किराँती सभ्यताको धार्मिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको छ। संस्थाका मूल सचिव अजय राईले पूजाको उद्देश्यबारे जानकारी दिँदै भने, “किराँती सभ्यतामा विश्वास गरिन्छ कि हाम्रा पूर्वजहरूले एक आपसमा जान-अजानमा गाली वा श्राप दिएको हुन सक्ने भएको कारण वर्तमान पुस्ताले त्यसको परिणाम भोग्नुपरेको हुन सक्छ। यस्ता श्रापलाई निवारण गर्न र क्षमाका लागि यासांबा-दोसांबा पूजा गरिएको हो।” यस पूजाले पूर्वजहरूको श्राप निवारणसँगै, कालक्रममा रोग र कष्टका कारण मृत्यु भएका चिर आत्माहरूको शान्तिको कामना पनि गर्दछ। पूजाका सम्पूर्ण प्रक्रिया माङमा (पुजारी) सुस्मिता राईले विधिपूर्वक सम्पन्न गरिन्। केकेआरएस सोनादा शाखाका अध्यक्ष सुरेन राई अनि सचिव अजय राईले आफ्नो संस्कृति र परम्पराको संरक्षणको महत्त्वलाई जोड दिँदै भने, “हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षण नै हाम्रो पहिचानको रक्षा हो।” संस्थाको बलियो भविष्यका लागि योगदान पुर्याउने सदस्यहरूलाई आभार व्यक्त गरे। यस कार्यक्रममा समुदायको एकता र सहकार्यको प्रतिक कार्यक्रममा केकेआरएस सोनादा शाखाका सम्पूर्ण प्रतिनिधिहरू र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूले आ-आफ्नो सम्बोधनमा यस प्रकारको विधिपूर्वक पूजा अर्चनाले सांस्कृतिक धरोहरको संरक्षणका साथै समुदायमा एकता र सहकार्यको भावना बलियो बनाउने धारणा व्यक्त गरे। यस सफल पूजाले किराँती परम्पराको गहिरो आस्था र सांस्कृतिक धरोहरलाई पुनः उजागर गर्दै, भावी पुस्ताहरूलाई आफ्नो मौलिक संस्कृतिप्रति सचेत र गर्व गर्न प्रेरित गरेको जानकारी प्राप्त भएको छ।










