खरसाङ: भारतीय जनता पार्टीले आज खरसाङमा कार्यकर्ता महासङ्गमको आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ। खरसाङको मन्टिभियट खेल मैदानमा कार्यकर्ता महासङ्गमको नामले आयोजित जनसभामा त्रिपुराका पूर्व मुख्यमन्त्री एंव सांसद विप्लवकुमार देव, दार्जिलिङका सांसद राजु विष्ट, भाजपा राष्ट्रिय प्रवक्ता प्रदीप भण्डारी लगायत पहाडभरिका ४७ वटा मण्डलहरुका भाजपा कार्यकर्ताहरु उपस्थित रहेका थिए। उक्त जनसभाको अध्यक्षता भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको अध्यक्षता र नकुल छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ। यस कार्यक्रममा भाजपा दार्जिलिङ जिल्ला महासचिव सोनाम लामाले स्वागत सम्भाषण राखेका थिए। उक्त जनसभाको शुरुवात जिल्ला अध्यक्ष सञ्जीव लामा र अन्यको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरेर थालिएको थियो भने त्रिपुराका पूर्व मुख्यमन्त्री एंव सांसद विप्लवकुमार देव, दार्जिलिङका सांसद राजु विष्ट, भाजपा राष्ट्रिय प्रवक्ता प्रदीप भण्डारी र अन्यको बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको छ। यस जनसभामा भाजपा दार्जिलिङ जिल्ला प्रवक्ता निरज थापाले आफ्नो सम्बोधनमा युवाहरुलाई तयार रहने र व्यवस्था परिवर्तनको लागि कार्य गर्ने आह्वान् गरेका छन्। जनसभामा दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष सञ्जीव लामाले आफ्नो सम्बोधनमा हाम्रो सांसद राजु विष्टले अहिलेसम्म उच्च कार्य गरेका छन् र उनले सेवाको भावनाले कार्य गरिरहेको बताए।

उनले पहाडमा बाघ जस्तो कराउनेहरु सुकना पुगेपछि स्याल हुने बताउँदै पहाडमा विकासको परिभाषा उल्टा भएको र भाइ भतिजावाद, भष्टचार बढेको आरोप लगाएका छन्। उनले भाजपा पार्टी अनुशासन र नियममा चल्ने पार्टी रहेको बताएका छन्।
जनसभामा दार्जिलिङका सांसद एंव राष्ट्रिय प्रवक्ता राजु विष्ट र त्रिपुराका पूर्व मुख्यमन्त्री, वर्तमान सांसद एंव भाजपा बंगालका चुनाव प्रभारी विप्लवकुमार देव आदिले सम्बोधन गरेका थिए। कार्यक्रममा दार्जिलिङका सांसद राजु विष्टको तर्फबाट रिम्बिक गैरी गाउँ क्षेत्रका १२ जना पैह्रो पिढीतहरुलाई एक लाख गरेर सहायता राशि प्रदान गरिएको छ।

गणतन्त्र दिवसको दिन नै भारतीय जनता पार्टीले खरसाङमा कार्यकर्ता महासंगम आयोजना गरेर पहाडमा गणतान्त्रिक व्यवस्था सिर्जना गर्ने घोषणा गरेको छ। यसको साथै बंगाल विधानसभा अघि पहाडमा भारतीय जनता पार्टीले शक्ति प्रदर्शन पनि गरेका छन्। गणतान्त्रिक मूल्यको लागि कार्यकर्ता महासङ्गम आयोजना गरिएको बताइएको छ।









