गान्ताेक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका अध्यक्ष एवं सिक्किमका भूतपुर्व मुख्यमन्त्री डा. पवन चामलिङले आज सामाजिक संजाल मार्फत राष्ट्रिय मतदाता दिवसको अवसरमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतका प्रत्येक नागरिकमा निहित शक्ति र जिम्मेवारीलाई पुनः स्मरण गर्दै मतदान गर्ने अधिकार केवल संवैधानिक विशेषाधिकार मात्र होइन, यो प्रत्येक पाँच वर्षमा नागरिकमाथि रहने सबैभन्दा महत्वपूर्ण कर्तव्य र जिम्मेवारीहरूमध्ये एक हो यसैले हाम्रो मतको शक्तिले हाम्रो राज्य र राष्ट्रको भविष्यलाई आकार दिन्छ भनि सन्देश दिए।
डा. चामलिङले मतपेटिका मार्फत सरकार चयन गर्नु भनेको पाँच वर्षका लागि सम्पूर्ण राज्य वा राष्ट्रका आशा र आकांक्षाहरू कुनै दल वा नेताको हातमा सुम्पिनु हो भने। साथै यसले मतदानको अधिकारलाई असाधारण शक्ति बनाउने र यसलाई विवेकपूर्ण, सचेत एवं निर्भीक रूपमा प्रयोग गर्नुपर्ने कुरा व्यक्त गरे।
संजालमा डा.चामलिङले भने, सुदृढ लोकतन्त्र सूचित र सक्रिय नागरिक सहभागितामाथि निर्भर गर्दछ। प्रत्येक मतले हाम्रो संस्थाहरूलाई बलियो बनाउँछ र न्याय, समानता तथा सुशासनप्रतिको हाम्रो सामूहिक आकांक्षालाई प्रतिबिम्बित गर्दछ।
यसरी नै डा.चामलिङले “आउनुहोस्, यस दिवसलाई जिम्मेवार सहभागिता जनाउने, सूचित रहने र भारतको संविधानमा निहित लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने संकल्पका साथ सम्मान गरौं” भनि सबै समक्ष अपिल गरे। अन्तमा सिक्किमवासी सबैलाई राष्ट्रिय मतदाता दिवसको हार्दिक शुभकामना व्यक्त गरे।









