नयाँ दिल्ली: गुप्त वंशका महान् सम्राट समुद्रगुप्तलाई इतिहासकारहरूले ‘भारतका नेपोलियन’को संज्ञा दिएका छन्। असाधारण सैन्य क्षमता, कुशल शासन, सांस्कृतिक संरक्षण र आर्थिक समृद्धिका कारण समुद्रगुप्तलाई भारतीय इतिहासको स्वर्णयुगको प्रतिनिधि शासक मानिन्छ।
चन्द्रगुप्त प्रथमले वृद्धावस्थामा शासनको जिम्मेवारी समुद्रगुप्तलाई सुम्पिएका थिए। उनी जेठा पुत्र नभए पनि निष्ठा, न्यायप्रियता र वीरताका कारण योग्य उत्तराधिकारीका रूपमा चयन भएका थिए। इलाहाबाद स्तम्भ शिलालेखमा समुद्रगुप्तलाई उत्तराधिकारी घोषणा गर्दा चन्द्रगुप्त प्रथम भावुक बनेको उल्लेख छ।
कतिपय इतिहासकारका अनुसार समुद्रगुप्तले सिंहासन प्राप्त गर्न केही दावेदारसँग संघर्ष गर्नुपरेको थियो। तीमध्ये काच नामक पात्र प्रमुख मानिन्छन्, जसका नाममा केही समयका लागि जारी गरिएका सुनका सिक्का भेटिएका छन्। केही विद्वानले काच र भष्म एउटै व्यक्ति भएको दाबी गरेका छन्।
समुद्रगुप्त बहुआयामिक प्रतिभाका धनी थिए। उनी वीर योद्धा मात्र होइन, कुशल शासक, कवि र संगीतप्रेमी पनि थिए। काव्यकला र संगीतमा दखल भएकाले उनलाई ‘कविराज’को उपाधि दिइएको थियो। उनका सिक्काहरूमा वीणा बजाइरहेको आकृतिसमेत देखिन्छ। हरिषेण र वासुबन्धुजस्ता विद्वान् उनका दरबारमा थिए।
इलाहाबाद शिलालेखअनुसार समुद्रगुप्तले सयौँ युद्धमा भाग लिएका थिए र कहिल्यै पराजित भएनन्। उत्तर भारतका नौ राज्यलाई आफ्नो साम्राज्यमा विलय गरे पनि दक्षिण भारतका जितिएका राज्यहरूलाई उनले अधीनस्थ मात्र बनाएर पुनः त्यहीँका शासकलाई शासन सुम्पिएका थिए। यसलाई उनको दूरदर्शी कूटनीतिक नीतिका रूपमा हेरिन्छ।
उनको शासनकालमा पाटलिपुत्रले पुनः वैभव प्राप्त गर्यो। गङ्गा उपत्यकाको अधिकांश भाग, बंगाल, असम, नेपालसम्म उनको प्रभाव फैलिएको थियो। श्रीलङ्कासँग कूटनीतिक सम्बन्ध रहनु उनको अन्तर्राष्ट्रिय पहिचानको प्रमाण मानिन्छ।
धार्मिक रूपमा विष्णुभक्त भए पनि समुद्रगुप्त धार्मिक सहिष्णुताका प्रतीक थिए। श्रीलङ्काका राजाको अनुरोधमा बोधगयामा बौद्ध विहार निर्माणको अनुमति दिनु यसको उदाहरण हो।
आर्थिक रूपमा समुद्रगुप्तको शासन अत्यन्त समृद्ध थियो। उनले आफ्नो शासनकालमा सुनका सिक्का मात्र चलनमा ल्याएका थिए। इतिहासकार राधाकुमुद मुखर्जीका अनुसार समुद्रगुप्तले आठ प्रकारका सुनका सिक्का जारी गरेका थिए, जसका लागि आवश्यक सुन युद्ध जितमार्फत प्राप्त भएको थियो।
इतिहासकार एच.सी. रायचौधरीले समुद्रगुप्त र सम्राट अशोकबीच तुलना गर्दै अशोक शान्ति र अहिंसाका पक्षधर भए पनि समुद्रगुप्त युद्ध, विजय र आर्थिक सुदृढीकरणमा केन्द्रित रहेको उल्लेख गरेका छन्।
लगभग ४५ वर्ष शासन गरेपछि सन् ३८० तिर समुद्रगुप्तको निधन भयो। सैन्य कौशल, सांस्कृतिक संरक्षण र आर्थिक समृद्धिको समिश्रणका कारण समुद्रगुप्तलाई भारतीय इतिहासका सर्वकालीन महान् सम्राटमध्ये एक मानिन्छ।









