सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा गत सीजनको च्याम्पियन रोलिंग क्लब धुलाबारी (नेपाल)-ले सेमिफाइनल मा स्थान बनायो। सुकना हाई स्कूल खेल मैदानमा सोमवार भएको चरम रोमाञ्चक दोस्रो क्वार्टर फाइनल म्याचमा रोलिंग क्लब धुलाबारीले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-विरुद्ध ४-३-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट दुर्लव तिवारीले २५औं, सुजन लिम्बुले ७४औं, अविनेश चौधरीले ८३औं र निकेश श्रेष्ठले इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरे। यसरी केएफसी-को तर्फबाट बिशाल छेत्रीले १२औं, पुजन सुब्बाले इञ्ज्युरी टाइमको दोस्रो मिनट र सेमुएल हल्दारले इञ्ज्युरी टाइमको छैटौं मिनटमा गोल गरे। निकेश श्रेष्ठलाई प्लेयर अव् द म्याच चयन गरियो। मंगलवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा लीजेण्ड्स फूटबल क्लब र सेल (स्टील अथरिटी अव् इण्डिया लिमिटेड), कलकत्ताबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









