खरसाङ: खरसाङ क्षेत्रबाट धर्म गुरु पेम्बा रिपोर्छेले आगामी जीटीए चुनावमा स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड़ने भएका छन्। पेम्बा रिम्पोर्छेले खरसाङ २८ नम्बर समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा आगामी जीटीए चुनावमा भाग लिने निर्णय लिएका छन्। उक्त कुराको जानकारी उनले आज खरसाङमा एक पत्रकार सम्मेलन बोलाएर घोषणा गरेका छन्। पेम्बा रिम्पोर्छेले खरसाङको एक होटलमा पत्रकार सम्मेलन बोलाएर म आफै उठेको होइन तर जनताले नै अनुरोध गरेको कारणले नै आफु खरसाङको २८ नम्बर समष्टि अर्थात खरसाङ देवराली समष्टिबाट स्वतन्त्र प्रार्थीको रुपमा जीटीए चुनाव लड्ने बताएका छन्। उनले खरसाङको एक नम्बरदेखि १० नम्बर वार्डसम्मका जनता अनि खरसाङको चिमनी, देवराली क्षेत्रका जनताले अनुरोध गरेको कारणले आफु चुनावमा उठेको बताएका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा पेम्बा रिम्पोर्छेले आफु धर्म गुरु लगायत सामाज सेवक रहेको कारणले सामाजिक कार्यलाई अघि बढ़ाउनलाई राजनैतिक प्लेटफार्म पनि चाहिने हुनाले आफु चुनावमा भाग लिन गएको बताएका छन्। आगामी जीटीए चुनावमा जनताको अनुरोधमा जीटीए चुनावमा गएको कारणले आफु जितप्रति पूरै आशावादी रहेको बताएका छन्। उनले मैले जितिसकेको भोट रहेको भन्दै गाउँहरू सबै मेरो पक्षमा आएपछि जित निश्चित रहेको दाबी पनि गरेका छन्।









