खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको आयोजनामा आईतवार खरसाङमा गोर्खाल्याण्ड अनि संवैधानिक व्यवस्था विषयमा संगोष्ठी हुने भएको छ। उक्त संगोष्ठीमा गोजमुमो अध्यक्ष बिमल गुरुङ उपस्थित रहने सम्भावना रहेको साथै महासचिव रोशन उपस्थित रहने भएको छ। खरसाङमा हुने संगोष्ठीमा आयोजक गोर्खा जनमुक्ति मोर्चाले पहाडका सबै राजनीतिक दलहरु साथै सत्तामा रहेका राजनीतिक दललाई पनि निमन्त्रणा पठाएका बताइएको छ। यस संगोष्ठीमा आसाम लगायत विभिन्न स्थानहरुबाट वक्ताहरु उपस्थित रहने भएको छ। आईतवार खरसाङमा हुने संगोष्ठीलाई लिएर आज गोजमुमोले खरसाङ बजारमा पार्टीको झण्डा लगाउने कार्य गरेका छन्। उक्त झण्डा लगाउने कार्यमा गोजमुमो खरसाङ महकुमा समितिको सभापति एंव पूर्व सभासद योगेन्द्र राई, महकुमा सचिव रोहित स्याङ्बो, सह सचिव दिपेन्द्र देवान, शरण देवान, बिमल दर्जी, योगराज प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। आईतवार खरसाङमा हुने संगोष्ठीलाई लिएर गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राईले विस्तृत जानकारी गराएका छन्।

उनले यो संगोष्ठी पार्टीदेखि माथि उठेर जातिको लागि रहेको बताउँदै सरकारले इन्टरलोक्युटर नियुक्त गरेको र अब सरकारले पहाडको लागि केही संवैधानिक व्यवस्था दिन खोजिरहेको र हाम्रो क्षेत्रका लागि कुन व्यवस्था सठीक रहनेछ भन्ने विषयमा चर्चा परिचर्चा गर्नलाई यो संगोष्ठी आयोजना गरिएको जानकारी गराएका छन्। उनले यस संगोष्ठीमा विभिन्न क्षेत्रका बुध्दीजीवीहरु उपस्थित रहने भएको जानकारी गराउँदै सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।









