खरसाङ: नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको क्वाटर फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत ३ जनवरीदेखि घैयाबारीस्थित नेताजी हाई स्कूलमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज नयाँ कमान एफसी र जलपाईगुडी एफसीमाझ खेल सम्पन्न भएको छ। यस खेलको पहिलो हाफको खेलमा जलपाईगुडी एफसीले निक्कै खेल देखाए पनि गोल भने हुन सकेन। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको खेलमा भने नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर १० सेन्डुप शेर्पाले गोल गरेर आफ्नो टिमलाई बढत बनाएका थिए। दोस्रो हाफको खेलमा जलपाईगुडी एफसीले गोल गर्ने धेरै प्रयास गरे पनि गोल गर्न सकेन अनि नयाँ कमान एफसीले खेल १-० ले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा म्यान अफ् द म्याच नयाँ कमान एफसीको जर्सी नम्बर १० सेन्डुप शेर्पालाई प्रदान गरिएको छ। अब आगामी १५ जनवरीमा रोयल एफसी र माउन्टेन ट्रुप्समाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सचिव शंकु खवासले बताए अनुसार घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ। यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।









