गायक प्रशान्त तामाङको निधनले पहाडमा शोकको लहर छाएको छ: अनित थापा
खरसाङ: ईण्डियन आईडल सिजन तीनको विजेता तथा नायक एंव गायक प्रशान्त तामाङको पार्थिव शरीरलाई दिल्लीबाट बाघगोगरा हवाई अड्डामा ल्याई पुर्याउँदा जीटीएको प्रमुख कार्यपाल अनित थापा लगायत अन्यहरुले श्रध्दाञ्जली अर्पण गरेका छन्। संगीतको माध्यमबाट गोर्खाहरुलाई एकता गराउन सफल गायक प्रशान्त तामाङको आईतबार ११ जनवरीको दिन ह्रदयघातको कारणले दिल्लीमा निधन भएको थियो। उनको निधनपछि दिल्लीका विभिन्न संघ संस्थाहरु साथै आईपीएस अफिसर रोबिन हिबु, हेल्पिङ ह्याण्ड र जीटीएको सहयोगमा बाघडोगरा हवाई हुँदै दार्जिलिङ लगिएको थियो। प्रशान्त तामाङको पार्थिव शरीरलाई सिलगढी हुँदै राष्ट्रिय राजमार्ग ११० भएर तीनधारे, महानदी, खरसाङ भएर दार्जिलिङ लगिएको थियो। बाघडोगरा हवाई अड्डामा बाहिर पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले प्रशान्त तामाङको निधनप्रति श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्। उनले गायक प्रशान्त तामाङको निधनले पहाडमा शोकको लहर छाएको बताउँदै यो घडीमा प्रशान्त तामाङलाई हामीले कलाकारको रूपमा हेरौं तर प्रशान्त तामाङलाई राजनीतिसित नजोडौं भनी बताएका छन्। जीटीए प्रमुख अनित थापाले प्रशान्त तामाङको पार्थिव शरीरलाई दार्जिलिङको चौतास्तामा राखेर श्रध्दाञ्जली अर्पण गरिने कार्यक्रम रहेको बताएका छन्। उनले यस घडीमा प्रशान्त तामाङको परिवारसित पनि बातचीत गरेको बताएका छन्। उनले एक प्रश्नको उत्तरमा प्रशान्त तामाङको पार्थिव शरीरलाई जीटीए लगायत अन्य धेरैको सहयोगमा बाघडोगरा हवाई अड्डा हुँदै दार्जिलिङ ल्याइएको पनि बताएका छन्। उनले यसको लागि जीटीएको सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक भानुकान्त घिसिङ दिल्ली पुगेर सहयोग गरेको बताएका छन्।










