सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) च्याम्पियन भयो। मिलनमोड़ खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा डीएसए-ले तरञ्जुबारी फूटबल क्लब (टीएफसी)-विरुद्ध पेनल्टी शूटआउटमा ४-१-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। पेनल्टी शूटआउटमा डीएसए-का गोलकीपर कल्याण रोयले लगातार २ वटा शेभ गरी टीमलाई च्याम्पियन बनाए। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल अनि समापन समारोहमा मुख्य अतिथिको रूपमा सिक्किमका मुख्यमन्त्री पीएस गोले उपस्थित थिए। उनले नै च्याम्पियन र रनरअप् टीमको पुरस्कार राशिमा १-१ लाख रुपियाँको बढ़ोत्तरी गरे। यसरी विशिष्ट अतिथिको रूपमा सांंसद राजु बिष्टको उपस्थिति रहेको थियो। यसबाहेक चम्पासरी ग्राम पञ्चायतका प्रधान जनक शाहा, सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरुण घोष, डाक्टर सिद्धिराज शर्मा, गुल्मा चियाबगानका प्रबन्धक देबोजीत कर गुप्ता, चन्द्र प्रकाश शर्मा (उपाध्यक्ष, सिक्किम रुपान्तर संस्थान), गणेश कुमार शर्मा (सचिव, भारतीय नेपाली नाट्य प्रतिष्ठान) र पञ्चायत सदस्य गोमा शर्मा, रिन्छेन तामाङ, फुर्बा तामाङ, मनमाया शर्मा (पञ्चायत समिति)-सहित अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन आयोजक मधुर मिलन संघका प्रमुख सल्लाहकार बद्रीप्रसाद शर्माले गरेका थिए।
संक्षिप्तमाः १२औं मिलनमोड़ (Milanmore) गोल्ड कप
च्याम्पियनः दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)
रनरअप्ः तरञ्जुबारी फूटबल क्लब (टीएफसी)
फेयर प्ले ट्रफीः जलपाइगढ़ी (Jalpaiguri) पुलिस
हाईएस्ट स्कोररः हेमराज भुजेल (डीएसए)
बेस्ट डिफेण्डरः जयशंकर शाहा (डीएसए)
प्लेयर अव् द टुर्नामेण्टः राजा छेत्री (टीएफसी)
बेस्ट गोलकीपरः कल्याण रोय (डीएसए)
प्लेयर अव् द म्याचः उमेश तिर्की (डीएसए)










