गायक प्रशान्त तामाङ रहेनन्

Prashanta Tamang

दिल्ली । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको थाहा भएको छ ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ ।

४३ वर्षिय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरेका हुन् । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरेका थिए ।

त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । हाल यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।

४ जनवरी , १९८३ मा भारतको दार्जिलिङमा जन्मिएका तामाङले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् ।

उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।

About Author

Advertisement