सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा डीएसएम सिलगढ़ीले रोमाञ्चक जीत हासिल गऱ्यो। सुकना हाई स्कूल खेल मैदानमा बिहीवार भएको म्याचमा डीएसएम सिलगढ़ीले नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेडविरुद्ध २–१–ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जोयहरि बर्मनले ४७औं र सौरभ बिश्वासले ५२औं मिनटमा गोल गरे। यसरी आर्म्ड पुलिसको तर्फबाट जनसन सुरिनले ८२औं मिनटमा गोल गरे। विजेता टीमका सौरभ बिश्वासलाई प्लेयर अव् द म्याच चयन गरियो। शुक्रवार खेलिने म्याचमा तरुञ्जाबारी फूटबल क्लब र कनकाई स्पोर्टिंग क्लब (नेपाल) बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा अग्रणी टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २२ र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २५ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनर अप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









