छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा हुने
खरसाङ: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा सम्पन्न हुने भएको छ। उक्त छैंटौं वार्षिक सम्मेलनलाई लिएर तदर्थ कमिटीको सभा सिटोङमा सम्पन्न भएको छ। उक्त सभा स्रष्टा सङ्गमको केन्द्रीय सभापति एल्डर राजु राईको अध्यक्षता र पूर्व सचिव हनोक थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा स्रष्टा सङ्गमको केन्द्रीय समितिबाट एंव
छैंटौं वार्षिक सम्मेलनको संयोजिका सन्ध्या आचार्य लगायत तदर्थ कमिटीको पदाधिकारीहरु उपस्थित रहेका थिए। सभामा गत सभाको विवरण पढेर सुनाइएपछि सभाको प्रस्तावहरुलाई लिएर चर्चा परिचर्चा गरिएको छ। सभालाई पास्टर सुधीर गहतराजको शुरुको प्रार्थनाद्वारा शुरु गरिएको थियो। सभाको निर्णय र केन्द्रीय समितिको निर्देशन अनुसार छैंटौं वार्षिक सम्मेलन विषयमा चर्चा परिचर्चा गरिएको छ। यसपाली खरसाङको सिटोङमा हुन गईरहेको छैंटौं वार्षिक सम्मेलनमा गजल लेखनमाथि वर्कशपको आयोजना गरिने साथै ख्रीष्टीय भजन/गीत लेखन विषयमा विमर्श कार्यक्रमको आयोजना पनि गरिने भएको छ। यसको साथै कथा, कविता, गीत, गजल वाचन कार्यक्रम पनि आयोजना गरिने भएको छ। यसको साथै विभिन्न विषयहरुमा छलफल र वार्ता प्रस्तुत गरिने भएको छ भने स्रष्टा सङ्गमको वार्षिक आम सभा पनि आयोजना गरिने भएको छ। यसपाली स्रष्टा सङ्गमको तर्फबाट वार्षिक रुपमा प्रदान गरिने ‘स्रष्टा सम्मान’ यसपाली इसाई जगतका वरिष्ठ साहित्यकार एंव वरिष्ठ अगुवा प्रेरित ध्रुव ‘शिष्य’ र सम्पादिका एंव नारी स्रष्टा एडना घलेलाई प्रदान गरिने भएको छ। उक्त छैंटौं वार्षिक सम्मेलनमा दार्जिलिङ, बिजनबारी, खरसाङ, मिरिक, सिलगढी, कालेबुङ, डुवर्स, सिक्किम लगायत अन्य क्षेत्रहरूबाट स्रष्टाहरु उपस्थित रहने भएको छ। यसपाली खरसाङको सिटोङमा हुने छैटौं वार्षिक सम्मेलनको लागि तदर्थ कमिटीमा सभापति दिल बान्तावा, उप सभापति पास्टर अनिल राई, सचिव मिका भोंग्मू, सह सचिव एल्डर युनुस लेप्चा, कोषाध्यक्षा प्रोकिला राई र सह कोषाध्यक्षा शोभा राई चयन भएका छन्। यसबाहेक पनि सल्लाहकारहरु र कार्यकारी सदस्यहरू पनि चयन गरिएको छ। सभामा स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलनमा खरसाङ, सिटोङ, लाटपञ्चार, मङ्पु क्षेत्रका स्रष्टाहरुलाई साथै स्थानीय चर्चहरुका पास्टरहरु, अगुवाहरु र स्रष्टाहरुलाई भेला गरिने भएको छ। सभामा स्रष्टा सङ्गमको केन्द्रीय सभापति राजु राईले आफ्नोे अध्यक्षीय सम्बोधनमा विभिन्न सुझावहरु राखेका थिए। सभामा सबैले स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलनलाई सफल बनाउन सक्रिय भएर कार्य गर्ने भएको जानकारी प्राप्त भएको छ। उल्लेखनीय छ, भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको स्थापना सन् २०१८ मा खरसाङको सिटोङबाट नै भएको थियो र स्रष्टा सङ्गमको पहिलो वार्षिक सम्मेलन खरसाङको सिटोङमा २०१८ मा भएको थियो भने दोस्रो वार्षिक सम्मेलन २०१९ मा पूर्व सिक्किमको रम्फुमा, तेस्रो वार्षिक सम्मेलन २०२० मा सिलगढीमा, चौथो वार्षिक सम्मेलन २०२३ मा सिक्किमको गान्तोकमा र पाँचौं वार्षिक सम्मेलन कालेबुङमा भएको थियो। यसपाली स्रष्टा सङ्गमको छैंटौं वार्षिक सम्मेलन खरसाङको सिटोङमा आगामी ३० र ३१ जनवरीमा दुई दिवसीय रुपमा आयोजना गरिने भएको छ।










