सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा जलपाइगढ़ी पुलिसले सेमिफाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा शनिवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा जलपाइगढ़ी पुलिसले ईष्ट बेंगल फूटबल एकाडमी, राजगञ्जविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। निर्धारित ९० मिनटको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर लाल्टु एसके-लाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा गत विजेता कनकाई स्पोर्टिंग क्लब (नेपाल) र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










