सिलगढीमा श्री सतपालजी महाराजको भव्य स्वागत, आजदेखि दुईदिने सद्भावना सम्मेलन सुरु

IMG-20251231-WA0064

सिलगढी: मानव उत्थान सेवा समिति उत्तर–पूर्वाञ्चल क्षेत्रको आयोजनामा सिलगढी–सालुगढास्थित मानव धर्म आश्रम परिसरमा आजदेखि दुईदिने सद्भावना सम्मेलन सुरु हुँदैछ। सम्मेलनलाई सम्बोधन गर्न मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराज दिव्य परिवारसहित सोमबार अपराह्न आश्रम आइपुग्नु भएको हो।


महाराजको आगमनसँगै मानव उत्थान सेवा समिति, मानव सेवा दल, आध्यात्मिक युवा संगठन, बालसभा तथा सन्त–महात्मा र बाईजीहरूले उत्तर–पूर्वाञ्चल क्षेत्रकी अध्यक्ष महात्मा दिपीका बाईजीको नेतृत्वमा भव्य स्वागत गरे। सम्मेलन स्थलको प्रवेशद्वारदेखि आश्रमसम्म करिब एक किलोमिटर दूरीभर भक्तजन पंक्तिबद्ध उभिएर जयजयकार गर्दै मानव झण्डा फहराएका थिए। स्वागत अवसरमा विभिन्न सांस्कृतिक झाँकी र नृत्य पनि प्रस्तुत गरियो।
हंस ब्याण्डको सुमधुर धूनका बीच मानव सेवा दलको विशेष टोलीले श्री महाराजलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। सो अवसरमा श्री महाराजले मानव सेवा दलको झण्डा पनि उत्तोलन गर्नुभयो। उहाँसँगै गुरुमाता अमृताजी, विभूजी महाराज, सुयशजी महाराज, आराध्याजी, मोहिनाजी, श्री श्रीयांशजी, अयाङ्सजी र गौरीता माताजी पनि सिलगढी आइपुगेका छन्।


३१ डिसेम्बर बिहान १० बजेदेखि परेड ग्राउन्डमा मानव सेवा दल र आध्यात्मिक युवा संगठनको पिटी परेड तथा युवा प्रकोष्ठ र बालसभाका कलाकारद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमहरू अवलोकन गरिनेछ। बेलुकी ६ बजे सद्भावना मञ्चमा सम्मेलनको औपचारिक उद्घाटन हुनेछ, जसमा सिक्किम सरकारका मुख्यमन्त्री पी. एस. गोले प्रमुख अतिथि रहने आयोजकले जनाएको छ।
सम्मेलनमा श्री सतपालजी महाराज, दिव्य परिवार तथा देश–विदेशबाट आएका आत्मानुभवी सन्त महात्माहरूले आध्यात्मिक प्रवचन दिनेछन्। ३१ डिसेम्बर मध्यराति महाराजको करकमलबाट मैनबत्ती प्रज्वलन गरी उपस्थित हजारौँ भक्तजनले नयाँ वर्ष २०२६ को स्वागत गर्ने कार्यक्रम तय गरिएको छ।
सिक्किम, दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, तराई–डुवर्स लगायत विभिन्न स्थानबाट भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। आयोजक समितिले भोजन, आवास र अन्य आवश्यक व्यवस्था निःशुल्क उपलब्ध गराएको जनाएको छ।

About Author

Advertisement