सिलगढ़ी: मधुर मिलन संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करणमा कनकाई स्पोर्टिंग क्लब (नेपाल)-ले क्वार्टर फाइनलमा स्थान बनायो। मिलनमोड़ खेल मैदानमा मंगलवार भएको म्याचमा गत सीजनको च्याम्पियन कनकाई स्पोर्टिंग क्लबले युनाइटेड फूटबल क्लब दार्जीलिङविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सञ्जय लिंगदेन राईले ६२औं मिनट र इञ्ज्युरी टाइमको दोस्रो मिनटमा २ गोल गरे। सञ्जय लिंगदेन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। कनकाई एससी-का गोलकीपर रोशन कार्कीलाई अन्तिम समयमा रेड कार्ड देखाइयो। बुधवार खेलिने म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र डेञ्जोंग बोयज (सिक्किम)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










