जीटीए प्रमुख अनित थापाद्वारा निरीक्षण
खरसाङ: पैह्रोले वाधित रोहिणी रोड आगामी १ जनवरीदेखि खोलिने भएको छ। गत ४ अक्टोबरको राती गएको पैह्रोले वाधित बनेको रोहिणी रोड लगभग तीन महिनापछि १ जनवरी बिहीबारदेखि खोलिने भएको छ। मंगलवार अपरान्हको समयमा जीटीए प्रमुख अनित थापाले रोहिणी रोडको निरीक्षण गरेका थिए। उनले रोहिणी रोडमा चलिरहेको मरमत्तिको कार्यको निरीक्षण गरेका थिए। उनले रोहिणी रोडको मरमत्तिको कार्य ३१ दिसम्बरसम्म पूरा गरेर रोड खोल्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ। यसको साथै मंगलवार बिहानको समयमा सम्बन्धित विभागीय अधिकारीहरुले रोहिणी रोडको निरीक्षण गरेका थिए। रोहिणी रोड १ जनवरीदेखि गाडीहरु कुदाउन खोलिए पनि मरमत्तिको कार्य जारी रहने भएको छ। बाटो खोलिएपछि पनि यसको कतिपय कार्यहरु जारी रहने भएको छ। बाटो खोलिएपछि पनि लाईलिङ गरेर मरमत्तिको कार्य जारी रहेको बताइएको छ। रोहिणी रोड पैह्रोले वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर कुदिरहेका छन्। अब रोहिणी रोड खोलिएपछि सबैलाई सुविधा हुने भएको छ। यसको साथै रोहिणी क्षेत्रका होटल व्यवसायीहरु रोहिणी रोड खोलिने भएपछि उत्साहित देखिएका थिए। यो रोहिणी रोडको मरमत्ति कार्य जीटीए अन्तर्गत खरसाङ अभियन्ता विभागबाट गरिएको छ। यसको मरमत्ति कार्य गर्दा मुनिबाट ६ मिटर आरसीसी गरेर 8 स्टेपसम्म आउँदा फेरि ३ मिटर आरसीसी गरेर माथि सडकसम्म आईपुग्दा २५ स्टेपभन्दा बेसी भएको बताइएको छ। यसको साथै अहिले ससेज वाल गरेर मरमत्ति गरिएको बताइएको छ। रोहिणी रोड पैह्रोले वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर कुदिरहेका छन् भने महानदी, घैयाबारी, तीनधारे, रंगटङ क्षेत्रमा होटल व्यवसायहरु राम्रो चलिरहेको छ भने रोहिणी क्षेत्रका होटलहरु बन्द अवस्थामा रहेको छ। तर अब रोहिणी रोड खोलिने भएपछि रोहिणी क्षेत्रका होटलहरु सञ्चालनमा आउने सम्भावना देखिएको छ।

अर्कोतिर सबै गाडीहरु राष्ट्रिय राजमार्ग ११० भएर कुदिरहेको कारणले गिध्द पहाड, महानदी, घैयाबारी, तीनधारे क्षेत्रमा जामको समस्या देखिएको छ। यसको अतिरिक्त गिध्द पहाडस्थित रक गार्डनको भ्यु पोइन्ट क्षेत्रमा दैनिक जामको समस्या देखिएको छ।









