गान्ताेक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले तमु लोछारको पावन अवसरमा राज्यवासीहरूलाई, विशेषगरी गुरुङ समुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा राज्यपाल माथुरले तमु लोछार गुरुङ समुदायको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले समुदायलाई आफ्ना मौलिक परम्परा र संस्कृतिसँग जोड्ने तथा समृद्ध सांस्कृतिक विरासत नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग गर्ने बताएका छन्।
उनले सिक्किमलाई सांस्कृतिक रूपमा समृद्ध राज्यका रूपमा उल्लेख गर्दै यहाँ विभिन्न समुदायबीच सौहार्द, सहिष्णुता र भाइचाराको भावना कायम रहेको बताए। भारतको शक्ति विविधतामा निहित रहेको उल्लेख गर्दै राज्यपालले सिक्किमले सांस्कृतिक समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको धारणा व्यक्त गरे।
राज्यपाल माथुरले तमु लोछारले आपसी भाइचारा, सहकार्य र एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै राज्यवासीहरूलाई आफ्नो सांस्कृतिक विरासतको संरक्षण र संवर्धनमा अग्रसर हुन आह्वान गरेका छन्। साथै, उनले सिक्किमवासीहरूको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन्।










