खरसाङ: ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको आयोजनामा खरसाङ महकुमा अस्पतालमा एक कार्यक्रम आयोजना गरी खरसाङ नगरपालिका क्षेत्रमा रहेका क्षय रोगका बिमारीहरुलाई पौष्टिक आहारहरु प्रदान गरिएको छ। उक्त पौष्टिक आहारहरु खरसाङ महकुमा अस्पतालमा पञ्जीकृत क्षयरोगका बिमारीहरुलाई प्रदान गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको भाइस चेयरम्यान डा. एके बारुईले गरेका थिए।

कार्यक्रमलाई सचिव बिजय सेञ्चुरीले गरेका थिए। कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु साथै डेपुटी मजिस्ट्रेट प्रसनजीत चौधरी उपस्थित रहेका थिए। यस कार्यक्रममा ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको तर्फबाट खरसाङ नगरपालिका क्षेत्रमा रहेका क्षय रोगका १५ जना बिमारीहरुलाई पौष्टिक आहारहरु र अन्य खाद्यान्नहरु वितरण गरिएको छ। उक्त पौष्टिक आहारहरु वितरण कार्यक्रममा नै इण्डियन रेड क्रस सोसाइटीमा सहयोग गर्ने विशिष्ट व्यक्तिहरूलाई प्रमाण पत्रहरु पनि वितरण गरिएको छ। उक्त कार्यक्रममा क्षय रोग र ईण्डियन रेड क्रस सोसाइटी विषयमा पनि जानकारी गराइएको थियो। यस कार्यक्रमलाई डेपुटी मजिस्ट्रेट प्रसनजीत चौधरी, व्यवसायी संगठन खरसाङका सभापति फिरोज अख्तर, सचिव राजेन्द्र प्रसाद, सभासद नुरी शेर्पा, पश्चिम बंगाल ड्रगिस्ट एण्ड केमिस्ट एसोसिएसनको तर्फबाट ओम चौरसिया, बिक्रम प्रधान, ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको भाइस चेयरम्यान डा एके बारुई आदिले वक्तव्य दिएका थिए। यसै कार्यक्रममा खरसाङ महकुमा अस्पतालका अवकाशप्राप्त नर्स मनमाया शर्मा प्रधानलाई महकुमा अस्पताल र ईण्डियन रेड क्रस सोसाइटीको तर्फबाट सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको प्रतिनिधिहरु, व्यवसायी संगठन खरसाङ, ड्रगिस्ट एण्ड केमिस्ट एसोसिएसन, सातकन्या देवी मन्दिर लगायत अन्य संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको सचिव बिजय सेञ्चुरीले भारत सरकारको टीबीमुक्त भारत योजना र पश्चिम बंगाल सरकारको पहलमा, खरसाङ महकुमा अस्पतालको टीबी युनिट र रेड क्रस सोसाइटी खरसाङ शाखाको आयोजनामा खरसाङ क्षेत्रका क्षय रोगका बिमारीहरुलाई ६ महिनाको लागि पौष्टिक आहारहरु वितरण गरिएको र यो क्रममा गत जुलाईदेखि शुरु गरेर दिसम्बरसम्म र आगामी जनवरी महिनादेखि अर्को छ महिना एको लागि गरिने जानकारी गराएका छन्।

उनले खरसाङ महकुमा अस्पतालमा पञ्जीकृत क्षयरोगका १७ जना खरसाङ नगरपालिका क्षेत्रमा रहेका बिमारीहरुलाई पौष्टिक आहारहरु वितरण गरिएको र यसमा दुईजना आज अनुपस्थित रहेको बताएका छन्। सचिव बिजय सेञ्चुरीले यस कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेको बताउँदै आफुहरुले क्षय रोगका बिमारीहरुलाई प्रत्येक महिना पौष्टिक आहारहरु वितरण गर्ने गरेको बताएका छन्। उनले आजको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।









