नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग शिष्टाचार भेट गरेको छ।
प्रतिनिधिमण्डलमा प्रदेश महासचिव अर्जुन राई, कोषाध्यक्ष कैलाश अग्रवाल तथा गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा सहभागी थिए।
भेटका क्रममा प्रतिनिधिमण्डलले हालै राष्ट्रिय कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका नितिन नबिनलाई भाजपा सिक्किमको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको छ। टोलीले राज्य निर्वाचन प्रभारीका रूपमा नबिनले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको नेतृत्व क्षमता र संगठनात्मक अनुभवको प्रशंसा गरेको प्रदेश भाजपाले जनाएको छ।
भेटमा सिक्किममा पार्टीको संगठनात्मक उपस्थितिलाई अझ सुदृढ बनाउने रणनीति तथा विद्यमान चुनौतीहरूबारे विचार–विमर्श गरिएको जनाइएको छ। साथै, राज्यमा पार्टीको वर्तमान संगठनात्मक अवस्थाको समीक्षा गर्दै आवश्यक समन्वय, सहयोग र मार्गदर्शनको विषयमा पनि छलफल भएको बताइएको छ।
प्रतिनिधिमण्डलले पार्टी संगठनलाई थप सशक्त बनाउन तथा कार्यकर्ताहरूमा ऊर्जा थप्न नितिन नबिनलाई शीघ्र सिक्किम भ्रमणका लागि निमन्त्रणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनअनुसार राज्यमा समावेशी विकास र संगठनात्मक विस्तारप्रति पार्टी प्रतिबद्ध रहेको सन्देश यस भेटबाट प्रवाहित भएको प्रदेश भाजपाले जनाएको छ।









