जङ्गु: नामप्रिकदाङमा आजदेखि ४९औं नामप्रिकदाङ नामसुङ महोत्सव शुरू भएको छ। ‘पैतृक लय’ थीममा आयोजना भइरहेको यस पाँचदिने महोत्सवको उद्घाटन पर्यटन एवं नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङपाले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लाचुङपाले महोत्सवको ४९औं संस्करण सफलतापूर्वक शुरू भएकोमा आयोजकलाई बधाई दिएका छन्। संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचानको मूल आधार भएको उल्लेख गर्दै उनले नामप्रिकदाङ नामसुङ महोत्सवले वर्षौंदेखि पुर्खाको सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्दै आएको बताए।
उनले सिक्किमका सबै समुदायलाई आफ्ना परम्परा जोगाउन प्रोत्साहन गरिरहेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरे। जङ्गु सधैं पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै उनले ग्रामीण पर्यटनका लागि जङ्गु स्वर्णभूमि बन्ने विश्वास व्यक्त गरे।
नामप्रिकदाङ नामसुङ समारोह समितिद्वारा आयोजित महोत्सवको समापन आगामी ३१ डिसेम्बर २०२५ मा हुनेछ। पहिलो दिन लेप्चा लोक नृत्य प्रतियोगिता तथा परम्परागत खेलकुदअन्तर्गत टग अफ वार प्रतियोगिता सम्पन्न भएको छ।
महोत्सव अवधिभर विभिन्न परम्परागत खेलकुद, सांस्कृतिक गतिविधि तथा सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। यस वर्षको महोत्सव नामप्रिकदाङ आसपासका ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरू—ब्रोङ क्योङ, उंघ्रुम हट स्प्रिङ, लिङदेमका झरना, ही-गेथाङस्थित लेप्चा केनको पुल रु-सोमलगायत क्षेत्रको प्रवर्द्धनमा केन्द्रित रहेको छ।










