खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा खरसाङमा गिरी जयन्ती समारोह सम्पन्न भएको छ। खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको जातीय कवि अगमसिंह गिरीको ९९औँ जन्मजयन्ती समारोह श्रध्दाञ्जली कार्यक्रमको रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको उपाध्यक्ष कृष्ण पाण्डेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा पुस्तकालयको पूर्व सभापति एवं वरिष्ठ समाजसेवी तिलक शर्मा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार, समाजसेवी तथा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा उपस्थित रहेका थिए। पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्यहरुका बाहुलीबाट जातीय कवि अगमसिंह गिरीको सालिगमा धुप दीप प्रज्ज्वलन साथै माल्यार्पण गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि तिलक शर्माले गोर्खा जातीय विभूति उद्यानमा रहेको कवि गिरीको सालिग स्थापना विषयमा साथै शिलान्यास र अनावरण विषयमा बताए। कार्यक्रममा सभाध्यक्ष कृष्ण पाण्डेले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। यसपाली पुस्तकालयको आयोजनामा कवि गिरीको श्रध्दाञ्जली अर्पण कार्यक्रम मात्र आयोजना गरिएको र आगामी वर्ष कवि गिरीको शतवार्षिकी समारोह भव्य रुपमा आयोजना गरिने भएको छ।

खरसाङमा आयोजित गिरी जयन्ती कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पुस्तकालयको सचिव विनोद रसाइलीले सबैलाई गिरी जयन्तीको शुभकामना दिन्दै यसपाली गिरी जयन्ती श्रध्दाञ्जली अर्पण कार्यक्रमको रुपमा आयोजना गरिएको र आगामी वर्ष गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा कवि गिरीको जन्म शतवार्षिकी समारोह भव्य रुपमा आयोजना गरिने जानकारी गराएका छन्।










