जलढका: गैरीबास साहित्य मञ्चले वरिष्ठ लोकसाहित्यकार एम.एम. गुरूङको जन्म शतवार्षिकीको अवसरमा आगामी ३१ डिसेम्बर २०२५ का दिन भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ। एक वर्षसम्म चल्ने शतवार्षिकी समारोहको औपचारिक शुभारम्भ सोही दिन गरिने मञ्चले जनाएको छ।
शुभारम्भ कार्यक्रममा साहित्यिक तथा सांगीतिक प्रस्तुति, सम्मान र सम्बर्द्धन कार्यक्रम समावेश रहनेछन्। यसै अवसरमा कुलैनबारी स्रष्टा मञ्चद्वारा प्रत्येक वर्ष गिरी जयन्तीका दिन प्रदान गरिँदै आएको स्व. आर.बी. छेत्री स्मृति सिर्जना पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार कालुसिंह रनपहेंलीलाई प्रदान गरिने घोषणा गरिएको छ।
उक्त पुरस्कारमा नगद राशि, स्मृति चिन्ह तथा अङ्गवस्त्र समावेश छन्।
लाटपञ्चर निवासी भए पनि हाल सालबारीमा बसोबास गर्दै आएका रनपहेंली वरिष्ठ आख्यानकार, कवि, नाटककार तथा आकाशवाणी खर्साङ र गान्तोकका कार्यक्रम निष्पादक हुन्। उनका कथा कुटीर, यथार्थबोध, प्रश्नचिह्न, च्यातिएका पृष्ठ जस्ता कथाकृति प्रकाशित छन्। उनी युग्मक विधाका प्रणेता मानिन्छन्।
त्यसैगरी मूल्यांकन–अवमूल्यन, बाँच्नुको क्रम, फेरि अर्को मेघदूत, समयको गलबन्दी जस्ता काव्यकृति तथा आँधी–हुरी–बतासहरूमा गीत सङ्ग्रह उनका प्रमुख सिर्जना हुन्। उनी विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित स्रष्टा हुन्। गैरीबासमा रहँदा उनले ‘स्पर्श’ साहित्यिक पत्रिका सम्पादन तथा प्रकाशन गरेका थिए। २०८० को दशकमा उनले स्रष्टा अभिनन्दन समारोह जस्तो भव्य कार्यक्रम आयोजना गरी यस क्षेत्रमा साहित्यको बीजारोपण गरेको साहित्यकर्मीहरू बताउँछन्।
गैरीबास साहित्य मञ्चका सचिव सेवक राई, संस्थापक तथा मुख्य सल्लाहकार पदम सुवेदी र सल्लाहकार वरिष्ठ कवि मनोज बोगटीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एम.एम. गुरूङको जन्म शतवार्षिकी २०२६ डिसेम्बरसम्म विविध कार्यक्रमसहित मनाइनेछ। शुभारम्भ कार्यक्रममा गैरीबास उच्च माध्यमिक विद्यालयमा अध्ययन गरी उच्च शिक्षा हासिल गरेका डा. सन्जोक छेत्री (गैरीबास), डा. मौसम शर्मा (दलगाउँ) र डा. सुनिला गुरूङ रोङ्गोलाई विशेष सम्बर्द्धन गरिने छ।
त्यसै दिन गैरीबासकै लोकप्रिय गायिका गौरी राईको नयाँ गीत पनि सार्वजनिक गरिने जानकारी मञ्चले दिएको छ।
गैरीबास साहित्य मञ्चले उक्त अवसरमा सबै क्षेत्रवासी तथा साहित्यप्रेमीहरूलाई ३१ डिसेम्बरको कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।










