सुकना: प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करण ५ जनवरी २०२६ देखि शुरु हुनेछ। बिहीवार आयोजक सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनद्वारा आयोजित पत्रकार भेलामा टुर्नामेण्टको आधिकारिक शेड्यूल जारी गरियो। युवा मामिला एवम् खेलकुद विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को विशेष सहयोगमा हुने यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसमा उत्तर बंगालको सर्वश्रेष्ठ टीमहरूको साथमा सिक्किम, नेपाल, भूटान र कलकत्ताका अग्रणी टोलीहरू सामेल छन्। टुर्नामेण्टको उद्घाटन म्याचमा बिन्नागुड़ी एफए र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा खेलिनेछ जबकि फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँ अनि उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आज पत्रकार सम्मेलनमा क्षेत्रीय सभासद परेश तिर्की (एमओडी, बीसीडब्ल्यू एवम् ट्राइबल डेवलपमेण्ट डिपार्टमेण्ट, जीटीए), आयोजक सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका वर्तमान अध्यक्ष सञ्जय छेत्री, उपाध्यक्ष निरेन लामा, सह-सचिव सौरभ छेत्री, सल्लाहकार पारसमणि मंगर, पूर्व अध्यक्ष शत्रुघन पोख्रेल, सल्लाहकार युवराज दहाल, सुकना ग्राम पञ्चायतका उपप्रधान सुनिल प्रधान, सल्लाहकार दिलीप छेत्री, सल्लाकार सागर शर्मा र प्रमुख सल्लाहकार डीबी थापाको साथमा सदस्य सनी प्रधान, माया प्रधान, गंगा विश्वकर्मा, किरण राई र दिवस गजमेरको उपस्थिति रहेको थियो।











