दार्जिलिङ: कलकत्ता उच्च न्यायालयको डिभिजनल बेञ्चद्वारा ३१३ जना शिक्षक शिक्षिकाहरुको पक्षमा स्थगनादेश जारी गरेपछि आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले ३१३ जना शिक्षक शिक्षिकाहरुलाई सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा भने, ‘स्टे आदेश हुनसाथ माननीय मुख्यमन्त्री म्याडमले फोन गरेर तपाईंहरुलाई शुभकामाना पनि दिनु भएको छ।
कोर्टमा केस दिनेहरुलाई पनि धन्यवाद दिन्छु। अब तपाईहरूको अधुरो कुरो पनि पूरा हुनेभयो।’
अनित थापाले अघि भने, ‘स्टे ढिलो हुन्छ भन्ने चिन्ता लागेको थियो। तपाईहरुको वेतन अनि छुट्टीको चिन्ता थियो। हेपाई चाँही नखानु होस्। सोसियल मिडियामा साँच्चै नै हेप्दो रहेछ तपाईहरुलाई। अरूले चोर दैलोबाट भन्दा तपाईहरू साँच्चै डराउनु हुँदो रहेछ। जति डरायो त्यति नै बेसी आक्रमण हुन्छ। अरूलाई नटोक्नु होस् अनि कसैले टोक्नु खोजे त्यसलाई नछोड्नु होस्।’
उनले आफ्नो सम्बोधनमा अझ भने, ‘सरकारी नौकरी एकपल्ट पाएपछि हत्त पत्त नौकरी नजाँदो रहेछ। नेता हुनु इच्छा छ भने चुनाउ जित्नुपर्छ। म त जनादेश पाएर चुनाउ जितेर आएको हुँ। उसले दार्जीलिङ्गको नगरपालिकासम्म बचाउनु सकेन। दार्जीलिङको सबै सत्ता मेरो अधीनमा राख्नु चाहान्छु। यो मेरो राजनैतिक धर्म हो। मैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी खोलेपछि आफ्नै चिन्हमा दुइटा चुनाउ लडे। जीटीए अनि पञ्चायत चुनाउ। दुइटै चुनाउ जिते।’
थापाले अझ भने, ‘सांसदको चुनाउ तृणमूलको चिन्हमा लडे। एउटा व्यावहारिक वाध्यता थियो। मैले सांसदको चुनाउ हारे पनि तपाईहरुको नौकरी बचाए।
आजको यो जीतले हाम्रो विधायकको जीतको लक्षण देखाउँदैछ। चोर दैलोको कुरा गर्नेहरु चोर मानसिकता भएकाहरु हुन्।’










