काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डू महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच सोमवार राति काठमाण्डूमा लामो भेटवार्ता भएको छ। रास्वपा नेता असिम शाहका अनुसार, झन्डै छ घण्टासम्म चलेको छलफलमा चुनावी तालमेल र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे अन्तरङ्ग कुराकानी भएको थियो।
सोमवार राति दुवै नेता एउटै गाडीमा बाहिरिएका तस्बिरहरू सार्वजनिक भएसँगै भेटवार्तालाई राजनीतिक सहकार्यको सुरुवातको रूपमा व्याख्या गरिँदैछ। असिम शाहले “कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ नै प्रमुख उम्मेदवार हुनेछन्, नभए स्वाभाविक रूपमा बालेनको पालो हो” बताए।
तर, रास्वपा सभापति लामिछानेले भने भावी प्रधानमन्त्रीको उम्मेदवारको5 विषयमा छलफल राजनीतिक चरणमा प्रवेश गर्ने बताउँदै, “काठमाण्डू मेयरसँगको संवाद महत्त्वपूर्ण कडी हो” भनेका छन्। उनले वैकल्पिक शक्तिहरूलाई एकसाथ ल्याउने पहल अघि बढाएको पनि उल्लेख गरेका छन्।
यस भेटवार्ता वैकल्पिक दलहरू – रास्वपा, बालेन र उज्यालो नेपाल पार्टीबीच चुनावी तालमेलको सम्भावनासँग जोडिएको छ। उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाले बीबीसीसँग भने, “सबै नयाँ शक्तिहरूसँग मिलेर अघि बढ्न हाम्रो दल सकारात्मक छ। रास्वपा र बालेनको टीमसँग निरन्तर संवाद चलिरहेको छ”।
हाल रवि लामिछानेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छ। कानुनविद्हरूका अनुसार, मुद्दामा अन्तिम फैसला नआएसम्म सार्वजनिक पद धारण गर्न नसकिने उल्लेख छ। तर लामिछानेका एक वरिष्ठ कानुनी परामर्शदाताले प्रतिनिधिसभा सदस्यको पदका नियम लागू हुने तर्क गरेका छन्।
सरकारले फागुन २१ गते संसदीय निर्वाचन मिति तोकेको छ। वैकल्पिक दलहरूको तालमेल सफल भए चुनावी मैदानमा परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिन सकिने अनुमान गरिएको छ।










