मङ्पु: रञ्जुभेल्ली जुनियर हाई स्कूलको वार्षिक कार्यक्रम मङपूस्थित रवीन्द्र भवनमा सम्पन्न भएको छ। अभिभावक विभूषण तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जीटीए लाब्दा–मङपू समष्टिका कार्यकारिणी सभासद रतन थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।विद्यालयका प्रधानाध्यापक शरण गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका नानीहरूले कविता वाचन, गीत तथा नृत्य जस्ता विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण दर्शकवर्गलाई मन्त्रमुग्ध पारेका थिए। कार्यक्रममा मङपू वरपरका विद्यालयका प्राचार्यहरू, शिक्षक–शिक्षिकागण तथा विद्यार्थीवर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। सिटोङ एकका समाजसेवक बिक्रम राईले आगामी वर्ष यसै विद्यालयमा अध्यनरत् निमुखा परिवारका चारजना नानीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ भने रन्जुभेल्ली विद्यालयले समाजसेवक बिक्रम राईलाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाएको छ। कार्यक्रमको अन्त्यमा आयोजक विद्यालय परिवारले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै अतिथिगणलाई स्मृति–चिन्ह प्रदान गरेको जानकारी प्राप्त भएको छ।










