खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित राइजिंग स्टार ईंग्लिश स्कूलले आफ्नो ११औं वार्षिक उत्सव एंव अभिभावक दिवस २०२५ भव्यताको साथ सम्पन्न गरेको छ। स्कूलका प्रबन्धक अनुप रामुदामुको अध्यक्षतामा साथै पंखाबारी उच्चतर माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापिका साथै जीटीएका कार्यकारी सभासद कल्पना प्रधान प्रमुख अतिथि रहेका थिए। यस कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कार्यकारी सभासद अनोस थापा, सारदा मुखिया सह-शिक्षिका पंखाबारी उच्चतर माध्यमिक विद्यालय, सुष्मा प्रधान सह-शिक्षिका पंखाबारी उच्चतर माध्यमिक विद्यालय, मुनु लामा सह-शिक्षिका पंखाबारी उच्चतर माध्यमिक विद्यालय, जिनोद परियार प्रिन्सिपल एभरग्रिन ईंग्लिश स्कूल, रमेश राई अक्स ईंग्लिश स्कूल, कपिल छेत्री भूतपूर्व प्रधानाध्यापक, लौ मार्यो हास्य श्रृंखलाबाट संगम शर्मा, प्रणय प्रधान, साजन छेत्री, बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायत अभिभावकहरू उपस्थित थिए। सरस्वती माताको तस्वीरमा दिप प्रज्वलनपछि शुरू भएको कार्यक्रममा स्कूलका भूतपूर्व छात्रा अनुश्री रामुदामुले सञ्चालन गरेका थिए भने स्कूलका प्रधानाध्यापिका लक्की छेत्री रामुदामुले स्वागत मन्तव्य राखेका थिए। युकेजी कक्षाका विद्यार्थीहरूद्वारा स्वागत नृत्यबाट सुरू भएको कार्यक्रममा कक्षा एलकेजीका नानीहरूद्वारा राइमस् प्रस्तुत गरेका थिए भने शिक्षिका संगीता छेत्री, अनिता टोप्पो अनि सिया छेत्रीद्वारा निर्देशित सेभ ट्रि थिम राखिएको नृत्य प्रस्तुत गरियो। कक्षा तीन र चारका छात्रा नानीहरूले अवस्था थापाद्वारा निर्देशित मगर नृत्य प्रस्तुत गरेका थिए भने रेविना राईद्वारा निर्देशित लेस्ट् किड बि किड् थिम मा नृत्य प्रस्तुत गरिएको थियो। संगीला थापा राईद्वारा निर्देशित मशिना नानीहरूद्वारा हिन्दी क्लासिकल नृत्य प्रस्तुतिले उपस्थित सबैको मन जितेको थियो। कार्यक्रमका मुख्य अतिथि कल्पना प्रधानले आफ्नो सम्बोधनमा स्कूलद्वारा आयोजित कार्यक्रमको प्रशंसा गरेकी थिइन्। गाडीधुरा जस्तो सानो ठाँउ राइजिंग स्टार ईंग्लिश स्कूलले नानीहरूलाई असल शिक्षा साथै विभिन्न विधामा अब्बल बनाउन अहम भूमिका निर्वाह गरेको छ भन्दै स्कूलको सम्पूर्ण परिवारलाई बधाई दिइन्। स्कूल पक्षबाट लौ मार्यो शृंखलाका टोलीलाई सम्बर्द्धना जनाइएको थियो भने अवस्था थापाद्वारा निर्देशित जय गोर्खा नृत्यले कार्यक्रम सबैको ध्यानाकर्षण गराएको थियो।

कार्यक्रमको अन्त्यमा वार्षिक परीक्षाको फलाफलको घोषणा गरिएको थियो भने प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पारितोषित वितरण गरिएको थियो साथै स्कूलमा वर्षभरि भएको विभिन्न कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पनि आकर्षक पारितोषित वितरण गरिएको थियो। सिन्द्धार्थ फाउन्डेसन नामक संस्थाले प्रायोजित छात्रवृत्ति यसपाली कक्षा चारको रियाज अलि अन्सारीले प्राप्त गरेका छन्। कार्यक्रमको अन्त्यमा स्कूल पक्षबाट सम्पूर्ण अभिभावकलाई धन्यवाद दिएका छन्।











