रुपन्देही: लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा सोमबारदेखि दुईदिने तालिम सुरु गरिएको हो।

क्यामेराको लेन्समार्फत लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यलाई विश्वसामु चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटीपीका प्रबन्धक धर्मराज दवाडीले बताए। उनका अनुसार लुम्बिनी बुद्ध जन्मस्थलका रूपमा मात्र सीमित नभई यहाँ संस्कृति, इतिहास, प्रकृति र समुदायसँग जोडिएका थुप्रै पर्यटन कथा छन्। “ती कथालाई प्रभावकारी तस्बिरमार्फत प्रस्तुत गर्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ,” दवाडीले भने। दिगो पर्यटन विकासमा मिडियाको भूमिका निर्णायक बन्दै गएकाले यो तालिमले स्थानीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने उनको विश्वास छ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको संज्ञा दिए। उनले सिकाइ निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै लुम्बिनी, कपिलवस्तु, पाल्पा, नवलपरासी र बर्दियाका कथा क्यामेरामा उतारिएका तस्बिरहरूले नेपाललाई विश्व पर्यटन नक्सामा अझ मजबुत बनाउने बताए। “यो तालिमले ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न मद्दत गर्नेछ,” उनले भने।
तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, बोर्डको प्रवर्द्धन रणनीति र दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिएका छन्। यस्तै, प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर र तस्बिर कथाको संरचनाबारे प्रशिक्षण दिएका छन्।

तालिमको दोस्रो दिन सहभागीलाई तस्बिर कथाको व्यवहारिक अभ्यास गराउँदै फिल्ड भिजिटसमेत गराइने आयोजकले जनाएको छ। तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३० जना फोटो तथा पर्यटन पत्रकार सहभागी छन्।
यस तालिमले लुम्बिनी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले बताए।











