दुबई: पाकिस्तानले फाइनलमा भारतलाई १९१ रनले पराजित गरी अण्डर-१९ एशिया कपको खिताब जित्यो। दुबई स्थित आईसीसी एकाडेमीमा खेलिएको फाइनलमा टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले समीर मिन्हास (१७२ रन) को शतक र अहमद हुसैन (५६) को अर्द्धशतकीय ईनिंग्सको सहायताले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनायो। जवाफमा भारतीय टीम २६.२ ओभरमा १५६ रन बनाएर अलआउट भयो। पूरा टुर्नामेण्टमा अजेय रहे पनि फाइनलमा भारतले दयनीय प्रदर्शन गर्यो। भारतले यसअघि ग्रुप चरणको म्याचमा पाकिस्तानलाई पराजित गरेको थियो तर आइतवार नतीजा अलग रह्यो। पाकिस्तान यसअघि टुर्नामेण्टमा २०१२-मा संयुक्त रूपले विजेता बनेका थिए। म्याचमा पहिला ब्याटिंग गर्दै ओपनर हमजा जहूर (१८)-को विकेट शुरुमै पतन भए पनि पाकिस्तानलाई अन्य ओपनर मन्हासको ब्याटिंगले बचायो। उनले ११३ बलको सामना गरी १७ वटा चौका र ९ वटा छक्काको साथ १७२ रन बनाए। मन्हासले उस्मान खान (३५) सँग दोस्रो विकेटको निम्ति ९२ रन अनि अहमद हुसैनसँग तेस्रो विकेटको निम्ति १३७ रनको पार्टनरशीप गरी स्कोर २६० रनसम्म पुऱ्याए। हुसैनले ७२ बलमा ३ वटा चौका र एउटा छक्काको साथ ५६ रन बनाए। भारतीय बलरहरूमा दीपेश देवेन्द्रनले सर्वाधिक ३ विकेट लिए। ३४८ रनको विशाल लक्ष्यलाई अघि राखेर खेल्दै ओपनरै वैभव सूर्यवंशीले तेज शुरुवात दिलाए पनि लगातार अन्तरालमा विकेटको पतनले गर्दा पाकिस्तानलाई म्याच जित्न कुनै समस्या भएन। अली रजाले कप्तान अयुष म्हात्रे (०२)-लाई आउट गरी भारतलाई पहिलो झट्का दिए। त्यसपछि आरोन जर्ज (१६) र सूर्यवंशी लगातार अन्तरालमा पभेलियन फर्किए। सूर्यवंशीले ३ वटा छक्का र एउटा चौकाको साथ १० बलमा २६ रन बनाए। दशौं नम्बरमा ओर्लिएर दीपेश देवेन्द्रनले ३६ रन बनाए। उनले १६ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। पाकिस्तानी बलरहरूमा अली रजाले सर्वाधिक ४ विकेट लिए।











