एसकेएम पार्टीको १७औँ रोलू दिवस पवित्र रोलू मन्दिरमा साधारण रूपमा सम्पन्न

FB_IMG_1766334854706

गान्ताेक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको १७औँ रोलू दिवस आज पवित्र रोलू मन्दिरमा पूजा–अर्चना गरी साधारण ढंगले पालन गरियो। पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले पवित्र रोलू मन्दिरमा सिक्किम र सिक्किमेली जनताको कल्याण, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै प्रार्थना गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तामाङले १७औँ रोलू दिवसको अवसरमा सबैलाई हार्दिक शुभेच्छा व्यक्त गरे। उनले रोलू मन्दिरको ऐतिहासिक तथा भावनात्मक महत्त्व र एसकेएम पार्टीको संघर्षपूर्ण यात्राको स्मरण गरे। पार्टी गठनका क्रममा भोग्नुपरेका कठिनाइहरूको चर्चा गर्दै मुख्यमन्त्री भावुक बने।
मुख्यमन्त्री तामाङले कठिन समयमा पार्टीलाई साथ दिने सबैको योगदानको कदर गर्दै पार्टीलाई मजबुत बनाउने व्यक्तिहरूलाई कहिल्यै नबिर्सनुपर्नेमा जोड दिए। आज सम्मानजनक पदमा रहेका व्यक्तिहरू कुनै व्यक्तिका कारण होइन, पार्टीकै कारणले त्यहाँ पुगेको स्पष्ट पारे।
पार्टी गठनका बेला रोलू मन्दिरमा सिक्किमका जनताको निःस्वार्थ सेवा गर्ने प्रतिज्ञा गरेको र आज त्यो प्रतिज्ञा पूरा गर्न पाइरहेको सन्तुष्टि व्यक्त गरे। साकेवा, चासोक तोङनाम, लोसुङ नामसुङ तथा क्रिसमसजस्ता चाडपर्वका कारण यस वर्ष रोलू दिवस सामान्य रूपमा मनाइएको जानकारी दिँदै पार्टी कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक उपस्थितिप्रति खुशी व्यक्त गरे।
मुख्यमन्त्रीले आगामी पार्टी स्थापना दिवस समारोह लगातार तीन दिनसम्म मनाइने घोषणा गर्दै मिशन २०२९ लाई केन्द्रमा राखी कार्य गर्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे।


कार्यक्रममा मन्त्री तथा पार्टीका सेक्रेटरी जनरल अरुण कुमार उप्रेती, राज्य मन्त्रीमण्डलका सदस्यहरू, विधायकहरू, मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ, विभिन्न विभागीय अध्यक्ष, सल्लाहकार, ओएसडी, सीएलसी अध्यक्ष तथा कार्यकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement